काठमाडौं, २४ चैत्र। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका प्रभावशाली युवा नेता केशब झाले ०७४ सालको चुनावभन्दा बढि नै सिट जित्ने दाबी गरेका छन् । आज (बिहीबार) रौतहटको गौरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै नेता झाले यस्तो बताएका हुन् ।
उनले सम्बोधनको क्रममा भने,‘अघिल्लो पटकको चुनावमा हाम्रो पार्टी मधेश प्रदेशमा मात्रै चुनावमा भाग लिने अवसर पायो, तर यसपटक हामी देशभर चुनाव लडदैछौं।अघिल्लो पटकभन्दा बढी सिट जित्नेछौं।’
उनले स्थानीय तहमा केन्द्रीय स्तरबाट गठबन्धन गर्नुको कुनै अर्थ र औचित्य नभएकोले स्थानीय तहको आवश्यकता र औचित्यको आधारमा चुनाव जित्ने गरि गठबन्धन गर्न पनि पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिएका छन् ।
उनले उम्मेदवार चयन गर्दा अघिल्लो पटक जितेका जनप्रतिनिधिहरुको राम्रो पर्फरमेन्स छैन र भ्रस्टाचारमा लिप्त छन भने रिपिट नगर्न पनि भनेका छन् । उनले भने,‘ हाम्रो पार्टी मिसनमा रहेको पार्टी हो, त्यसकारण हाम्रो लागि राजनीतिक मुद्दा र विकास निर्माणका कुरा दुवै महत्वपूर्ण छन।’
फरक प्रसंगमा उनले सरकारमा सहभागिताको विषय आफूहरुको लागि त्यति महत्वपूर्ण नभएको जिकिर गरे । उनल ेभने,‘सरकारमा सहभागिता हाम्रो लागि महत्त्वपूर्ण होईन, हाम्रा माग र मुद्दाहरु सम्बोधन भयो भने जान सकिन्छ।’
अघिल्लो पटक मधेश प्रदेशमा तत्कालिन राजपाबाट २५ प्रमुख र ३१ वटा उपप्रमुख जितेको अंकगणित सुनाउँदै यसपटक योभन्दा बढि संख्यामा जित्नुपर्ने भन्दै सोही अठोटका साथ अघि बढ्न आम नेता तथा कार्यकर्ताहरुलाई उनको सुझाव छ ।