Logo

स्वरोजगार श्रमिकहरुमाथिको ज्यादती तत्काल बन्द गर्न काठमाडौं महानगरलाई नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनको चेतावनी, अन्यथा आन्दोलनमा उत्रने घोषणा



काठमाडौं, २४ चैत । नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनले काठमाडौं महानगरपालिकाले ठेकेदार माधवप्रसाद काफ्लेसँगको मिलेमतोमा सहरी सेवा केन्द्र रत्नपार्कमा रहेका स्वरोजगार श्रमिकहरुमाथि ज्यादती गरेको आरोप लगाएको छ ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले महानगरको आतंक बन्द नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । गत कार्तिक ११ गते काठमाडौं महानगरपालिकाले दिएको पसल बन्द गर्ने निर्देशनलाई व्यापारीहरुले पालना गरेर वार्तापछि २ वर्ष म्याद थप्ने कुरा भएपनि चैत २१ गते व्यापारीहरुलाई कुनै जानकारी नै नदिईकन ९ वटा सटर भत्काइनु र ४ वटामा तालावन्दी गर्नु खेदजनक कार्य भएको संगठनको भनाई छ ।

कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष कुमार सापकोटले आँफैले रोजगारी सिर्जना गरेर सटर तथा सडक व्यापार गरेका श्रमिकहरुलाई राज्यले पटक–पटक धरपकड गर्न खोज्नु दुःखद् रहेको बताए । साथै, उनले सरकारले श्रमिकहरुलाई नजरअन्दाज गरे कडा सडक आन्दोलन गर्न बाध्य हुने भन्दै श्रमिकहरुलाई श्रम गरेर खान दिनुपर्ने बताए ।

‘पाँच वर्षको लागि भाडा तिरेर बसेका नौ वटा सटरमा व्यापारीहरुलाई कुनैपनि जानकारी नदिई भत्काइयो । त्यसभन्दा अघि पनि ताला लगाइयो । यस विषयमा हाम्रो संगठन घोर भत्र्सना गर्दछ । सरकारले यस्तो कार्य दोहोर्याईरहे सशक्त सडक आन्दोलन हुन्छ’–उनले भने ।

यस्तै, उनले काठमाडौं महानगरपालिका र ठेकेदारले व्यापारीहरुलाई क्षतिपूर्ति दिनुपर्ने माग अघि सारे । कोरोनाले थलिएका व्यापारीहरुलाई सरकारले राहत दिनुपर्ने ठाउँमा उल्टो सिध्याउन खोजेको उनको आरोप थियो ।

उनले भने,‘सडकको समस्यालाई समाधान गर्नको लागी राज्यले अपनत्व लिओस् भन्ने हाम्रो चाहना हो । हामीले ज्ञापनपत्र बुझाएका छौं । हाम्रो माग परा नभए कडा आन्दोलन गर्न बाध्य हुनेछौं । हामी मर्नपनि तयार छौं ।’

राष्ट्रिय स्वरोजगार व्यवसायी संघका केन्द्रीय अध्यक्ष लिलाबहादुर दाहालले गरिवी उन्मूलन गर्छु भन्ने सरकारले आफ्नो व्यापार तथा व्यवसाय गरेर बसेका व्यवसायीमाथि अवरोध सिर्जना गर्नु आपत्तिजनक विषय भएको बताए ।

यस्तै, उनले महानगरपालिकाले कर तिरेर व्यापार÷व्यवसाय गरेर बसेका व्यापारीहरुलाई बिभिन्न बहानामा धम्क्याउने र ताला लगाउने काम तत्काल बन्द नगरे महानगरविरुद्ध आन्दोलन सिर्जना गरेर सशक्त रुपमा अगाडि बढ्ने चेतावनी दिए ।

‘हामीले व्यवसायीहरुको हकहितको लागि विगत लामो समयदेखि नै काम गर्दै आएका छौं । त्यसैले महानगरले ज्यादती गर्न नछाडे हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं’–उनले भने ।

एकीकृत ट्रेड युनियन महासंघ नेपालका सचिव प्रेमबहादुर कार्कीले सडकमा बसेर व्यापार गर्ने कसैको रहर नभएको भन्दै राज्यले कानून बनाएर सडक व्यापारीहरुलाई व्यवस्थापन गर्नुपर्नेे धारणा राखे । उनले काठमाडौं महानगरपालिकाले ठेकेदारसँगको मिलेमतोमा स्वरोजगार श्रमिकमाथि आतंक मच्चाएको भन्दै महानगरको यस कार्यप्रति महासंघको ध्यानाकर्षण भएको बताए ।

साथै, उनले एउटा ठेकेदारको उक्साहटमा महानगरपालिकाले स्वरोजगार श्रमिकमाथि जाइलाग्ने काम निन्दनीय र भत्र्सनायोग्य रहेको पनि टिप्पणी गरे । स्थानीय सरकारले माफिया र बिचौलीया ठेकेदारको निर्देशनमा श्रमिकहरुको हातमुख जोड्ने भाँडोमा ताला झुन्ड्याउने काम गरेको उनको आरोप थियो ।

उनले सडकमा व्यापार गर्ने श्रमिकहरुको सामान जफत गर्ने काम महानगरले गरिरहेको भन्दै यस्तो काम तत्काल बन्द गर्न आग्रह गरे । राज्यले श्रमिकहरुलाई तर्साउने कार्य जारी राखे महासंघ मुकदर्शक भएर नबस्ने बरु सशक्त संघर्षमा उत्रिने पनि उनले चेतावनी दिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्