काठमाडौं, २५ चैत। पाशुपत क्षेत्रमा बतास समूहले सञ्चालन गरेको धर्मशालामा सरकारले तालाबन्दी गरेको छ । बतास समुहले सञ्चालन गर्दै आएको होटल आनन्दमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले ताल्चा लगाएका हुन् । बतास समूहले शुक्रबार धर्मशालाको गेट नखोलेपछि कोषले गेटमै ताल्चा लगाएको हो ।
गत साताको बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित कोषका पदाधिकारी धर्मशालामा तालाबन्दी गर्न पुगेका थिए । तर, तालाबन्दी गर्न भने सकेनन् ।
शुक्रबार पनि कोष पदाधिकारी धर्मशाला पुगे । तर, धर्मशालाको गेट नखोलेपछि कोषका पदाधिकारी फर्किए । आनन्द बतास समूहका प्रबन्ध निर्देशक जेपी पोखरेलले तालाबन्दी गर्न आएकाले गेट नखोलेको जानकारी दिए ।
कोषका पदाधिकारीले आफूहरू तालाबन्दी गर्न नआएको र कोषको सम्पत्ति हेर्न आएको बताए पनि धर्मशालाका कर्मचारीले तालाबन्दी गर्ने अधिकार कोषका पदाधिकारी नरहेको भन्दै गेट खोल्न मानेका थिएनन् ।