हेटौंडा, २५ चैत्र। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले ज्ञानेन्द्र कै भुमिकाको कारण अब नेपालमा राजा नफर्किने बताएका छन् । आज राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै बर्तौलाले अभिभावक बन्नपर्ने राजा एउटा दलभित्र पनि गुट, समूह, ब्यक्ति खोज्दै हिड्न थालेपछि उनको सक्रिय राजा बन्ने सपना अब सदाको लागि समाप्त भएको बताए ।
आफूहरुले मुलुकभित्रका सबै दल र शक्तिले स्विकार्ने सेरेमोनियल राजाको कुरा गर्दा ज्ञानेन्द्रले अस्थिरता र अराजकतामार्फत सक्रिय राजाको भूमिकामा आउने रहर गरेपछि राजाको एजेन्डा छोड्न बाध्य भएको समेत बर्तौलाको भनाई छ । राप्रपा र कमल थापालाई कमजोर बनाउने खेलमा निर्मल निवास प्रयोग भएको भन्दै बर्तौलाले आक्रोश समेत पोखे ।
अहिले पनि राप्रपा नेपाल र कमल थापालाई राजनैतिक रुपमा समाप्त पार्ने षड्यन्त्र जारी रहेको भन्दै त्यो दिवास्वप्न मात्र हुने उनको दाबी थियो । कार्यक्रममा राप्रपा नेपालका नेताहरु बालकृष्ण कार्की, अम्बिका खतिवडा, गुरु सापकोटा लगायतले आफ्नो धारणा राखेका थिए ।