पाँचथर, २८ चैत । वर्षेनी वर्षा कम हुँदै जाँदा विसं २०६५ पछि यासोक, स्याबरुम्बा र रानीगाउँ गाविसमा खानेपानीको हाहाकार हुन थाल्यो । पिउने पानीसमेत घन्टौं लगाएर बोक्नुपर्ने भएपछि अन्नबाली उत्पादन र पशुपालन कठिन हुँदै गयो । खानेपानीका मुहान सुकेको र वर्षासमेत निकै कम हुन थालेपछि जिल्लाको पश्चिम–दक्षिण क्षेत्रमा पर्ने ती गाविसलाई सरकारले विसं २०६८ मा सुख्खाग्रस्त क्षेत्र घोषणा ग¥यो । खानेपानी अभावपछि स्थानीयवासीको दिनचर्या कष्टकर त भयो नै, जीविकोपार्जनका माध्यम सीमित हुँदै जाँदा गरिबी, बेरोजगारी र खाद्यान्न अभाव हुन थाल्यो ।
निकै समय लगाएर गाग्रीमा पानी बोकेर ल्याई पिउनुपर्ने र वैदेशिक रोजगारीमा गएका आफन्त वा अन्य रोजगारी गर्ने परिवारका सदस्यको कमाइका भरमा जीवन गुजार्नुपर्ने बाध्यता कतिपय स्थानीयवासीलाई आइप¥यो । परिणामतः अन्यत्र बसाइँ सरेर गई जीविका चलाउन सक्नेहरूले आफ्नो थातथलो छाडे । घरहरू खाली हुँदै जाँदा गाउँबस्ती सुनसान हुन थाले । बसाइँ सर्न नसक्ने र खानेपानी अभावको समस्या सामान्य रहेका ठाउँका स्थानीयवासी भने पुराना दिन फर्किने आशामा बाँचिरहे ।
सुन्दा चलचित्रको कथाजस्तो लागे पनि यो कुम्मायक गाउँपालिकाका बासिन्दाको बिर्सनलायक विगतको यथार्थ हो । समय क्रमसँगै अप्ठ्यारामै जिउन धेरैको बानी प¥यो । ट्रयाक्टरमा प्लास्टिकका ट्यांकीमा पानी ल्याई पिउने र प्लास्टिक पोखरीमा वर्षात्को पानी जम्मा गरी गाईवस्तुलाई दिने गर्न थालियो ।
खानेपानीको चरम अभाव भएका ती स्थानमा सम्भव हुने मुहान कहीँ कतै थिएनन् । वर्षा कम हुँदा पुराना मुहानमा पानी रसाउने सम्भावना पनि थिएन । सबैमा खानेपानीको हाहाकार अनन्त पो होला कि भन्ने डर थियो।
विसं २०७० पछि भने तमोर नदीको पानी विद्युतीय पम्पिङमार्फत ती स्थानमा वितरण गर्न सकिने भनी चर्चा हुन थाल्यो । पम्पिङ खानेपानी आयोजना निर्माणका लागि निरीक्षण र सर्भेका काम हुन थाले । तमोरको पानी डाँडामाथि ल्याई वितरण गर्न सम्भव हुनेमा धेरै स्थानीयवासी विश्वस्त थिएनन् ।
खानेपानीको चरम अभाव भएकै क्षेत्र रानीगाउँका डम्बरसिंह सम्बाहाम्फे यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य तथा संविधानसभा सदस्य हुँदै राज्यमन्त्रीसम्म बनेका थिए । गाउँको समस्या सिंहदरबारमा पु¥याउने, सुनाउने र घच्घच्याउने बलियो माध्यम तिनै भएकाले स्थानीयवासी धेरै हदसम्म आशावादी थिए । यहाँका अगुवाले सिंहदरबारमा मन्त्रालयका ढोका दर्जनौंँ पटक ढक्ढक्याएपछि सरकार पनि समस्या अनुभूत गर्न तयार भयो ।
समय क्रमसँगै पम्पिङ खानेपानी निर्माणको सुरुआत भयो । सुख्खापनले प्रभावित तीन गाविस तथा माङ्जाबुङ गाविससमेत समेटिएको कुम्मायक गाउँपालिका बन्यो । गाउँपालिकाले ट्याङ्करमा पानी ल्याई सुलभ दरमा वितरण गर्न थाल्यो । यसरी ल्याइएको पानी घरघरमा वितरण सम्भव नभए पनि यासोक बजारसहित मुख्य ठाउँसम्म पुग्यो । “खानेपानीको चरम अभाव समाधान गर्न ट्याङ्करको सहायताले खानेपानी वितरण गर्ने कार्यले पनि नागरिकलाई ठूलो राहत दियो”, गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले सम्झिए ।
लगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयो । सङ्घ र प्रदेशमा सरकार बने । सुख्खाग्रस्त क्षेत्रसम्म कालोपत्रे सडक विस्तार गर्न सङ्घ र प्रदेश सरकारले बजेट छुट््याए । यहाँका धेरै बासिन्दाले कल्पना नै नगरेको ‘तमोर कोरिडोर’ सडक निर्माणको चर्चा सुरु भयो । विसं २०७५ देखि तमोरको किनारैकिनार दुई लेनको सडकका लागि साधारण मार्ग खोल्ने काम भयो ।