काठमाडौं, बैशाख ७ । चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको वसन्तपुरस्थित नौ तले दरबारको काम दुई वर्षपछि बल्ल शुरू भएको छ । कोभिड–१९ संक्रमणको कारण २०७६ चैतदेखि चिनियाँ पक्षले काम गरेको थिएन ।
विश्वभर कोरोना संक्रमण बढेसँगै लकडाउन भएको अवस्थामा करिब ९० प्रतिशत काम सम्पन्न गरी ठेकेदारसहितको चिनियाँ टोली चीन फर्केको थियो । तर, अहिले भने चीनमा कोरोना संक्रमण बढे पनि यहाँ रहेका चिनियाँ टोलीले काम शुरू गरेको पुरातत्व विभागले जनाएको छ ।
हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दिप खनालले मंगलबार नेपाल समाचारपत्रलाई कोभिडपछि अहिले १० दिनदेखि काम जारी रहेको जानकारी दिए । उनले भने– ‘विभागले ठेकेदार कम्पनीसँग कुराकानी गरेपछि बल्ल काम शुरू भएको हो ।’करिब २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको सो परियोजना सम्पन्न हुन करिब ७ महिना बाँकी छ । हनुमानढोका विकास समितिका कार्यकारी निर्देशक खनालका अनुसार नोभेम्बर २२ मा सम्झौता सकिँदैछ ।
विभाग र चीन सरकारको स्वामित्वमा रहेको कम्पनीबीच ३१ डिसेम्बर सन् २०१६ मा सम्झौता भएको थियो । सो परियोजनाको काम २०७४ सालबाट शुरू भएको थियो । सम्झौतामा चिनियाँ पक्षलाई नेपाल सरकारले पुनर्निर्माण परियोजना सम्पन्न भएको १० दिनभित्र हस्तान्तर गरी प्रमाणपत्र दिनुपर्ने, पुनर्निर्माण शुरू भएपछि दुई वर्षसम्म चिनियाँ पक्षले अनुगमन गर्ने, दुवै पक्षको सहमति वेगर परियोजनासँग सम्बन्धित ड्रइङ, डिजाइन तेस्रो पक्षलाई उपलब्ध गराउन नपाइनेलगायतका विषय समाबेश छ ।
करिब साढे ३ वर्षमा ९० प्रतिशत काम सकेको अवस्थामा कोभिड संक्रमण बढेपछि चिनियाँ टोली स्वदेश फर्किएको थियो ।पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले सम्झौता अवधि सकिनै लाग्दा ठेकेदार कम्पनीले कोभिडको कारण तोकेको समयमा काम सम्पन्न हुने अवस्था नआएकोले म्याद थपिदिन आग्रह गरिरहेको बताए । चीन सरकारको तर्फबाट नेपालमा दरबार हाइस्कुल पुनर्निर्माण सम्पन्न भइसकेको र नुवाकोटको सात तले दरबार पुनर्निर्माणको चरणमा रहेको जिकिर गर्दै उनले भने– ‘यस्तोे अवस्थामा नेपाललाई सहयोग गर्र्ने कम्पनीसँग तत्काल सम्झौता भंग गर्ने अवस्था आउँदैन ।’
चीनले वसन्तपुर दरबार पुनर्निर्माण लगत्तै संग्रहालयका सामग्रीलाई व्यवस्थित रूपमा सजाएर राख्न डिस्प्ले, विद्युतीकरणदेखि लाइटिङ, सीसीटिभीलगायतका उच्च प्रविधि जडान गर्नेदेखि सबै काम गर्ने जनाएको छ । सबै काम सक्न करिब डेढ वर्ष लाग्नसक्ने विभागको अनुमान रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।