ललितपुर,बैशाख ८ । बाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले आफ्नो ‘निजी गाडी’ गाउँपालिकालाई भाडामा लिन लगाएर आफैं चढ्ने गरेको खुलासा भएको छ ।
वडा ४ प्युटार बस्ने मखमली घले अध्यक्ष लोप्चनकी साली हुन् । उनैको नाम रहेको गाडी मासिक भाडा बुझाउने गरी गाउँपालिकाले सम्झौता गरेको पाइएको छ । जुन, गाडी अध्यक्ष लोप्चन चढ्छन् ।
प्राप्त गरेको ‘डकुमेन्ट’अनुसार पालिकाले १ कात्तिक २०७७ देखि २०७८ असार मसान्तसम्म मासिक १ लाख ८० हजार भाडा बुझाउनेगरी सम्झौता गरेको छ । सम्झौतामा ‘सवारी चालक सवारीधनीले उपलब्ध गराउनुपर्ने’ भनिए पनि ‘पालिकाबाटै सवारी चालकको तलबसमेत लिइने गरेको’ उल्लेख छ ।
गाउँपालिकाले अध्यक्षले प्रयोग गर्नेगरी आर्थिक वर्ष २०७४/७५ देखि नै ‘कोटेसन’गरी लोप्चनले पत्नी सीता लोप्चनको नाममा रहेको ‘महिन्द्र स्कारपियो फुल अप्सन फोर ह्विल गाडी’ भाडामा लिएको थियो । बा१८च ९९६८ नम्बर सेतो रङको डिजेल गाडी भाडामा लिइएको थियो ।
‘पत्नीकै नाममा रहेको गाडी भाडामा लिएको?’ भनी प्रश्न उठ्न थालेपछि साली मखमली घलेको नाममा ‘नामसारी’ गरी आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म निरन्तर भाडामा लिएर अध्यक्ष आफैं चढिरहेका छन् ।
प्रारम्भमा १ लाख ९४ हजार मासिक भाडामा लिइएको गाडीमा सवारी चालकको तलब सवारी धनीले उपलब्ध गराउथ्यो । चालू आर्थिक वर्ष १ साउन २०७८ देखि हालसम्म भाडा वृद्धि गरी १ लाख ९८ हजार कायम गरिएको छ।
स्रोतका अनुसार अहिले आफ्नै भतिजोलाई चालक राखेर गाउँपालिकाबाट तलब खुवाउने गरिएको छ । उनले हालै सञ्चालनमा ल्याएको थाङसिंटार अस्पतालमा छोरालाई समेत जागिर दिलाएका छन् । राजधानी दैनिकबाट