काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा स्थानीय तहको निर्वाचनमा नगरपालिका र गाउँपालिकामा टिकट बाँडफाँडबारे छलफल भएको छ ।
भरतपुर महानगरपालिकामा निर्वाचनलक्षित गठबन्धनमा समस्या नआओस भन्नेमा प्रचण्ड सचेत छन् । पछिल्लो समय सत्तारुढ दलबीच भरतपुर महानगरको मेयर र उपमेयरमा चुनावी गठबन्धन बनेसँगै चितवन कांग्रेसका नेताहरुको असन्तुष्टि सुनिएको छ । उनीहरुले विद्रोह गर्ने चेतावनी समेत दिएका छन् ।
भरतपुरको मेयर माओवादीलाई छाडेको भनेर चितवन कांग्रेस सभापतिको कार्यकक्षमा आजमात्रै कांग्रेस कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । यो घट्नापछि प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न पुगेको बताईएको छ । प्रचण्डले प्रधानमन्त्री देउवालाई केन्द्रबाट नै सबै उम्मेद्धवार तय गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।