काठमाडौं, १६ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले नेता कार्यकर्तालाई पार्टी अनुशासनको दायरामा राख्ने संस्कार आवश्यक रहेको औंल्याएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, कोही हार्छन्, कोही जित्छन् । तर अहिले विभिन्न पार्टीमा बागी हुने लहर चलिरहेको छ । पार्टीले गरेका निर्णय पालना गर्ने संस्कारको अभाव देखिएको छ । बागीलाई उम्मेदवारी फिर्ता लिन दबाब दिनुभन्दा नेता कार्यकर्ताले पार्टी अनुशासनको दायरामा बस्ने संस्कार बसाल्नु आवश्यक छ ।”
नेता साहले भरतपुर महानगरपालिकाको चर्चा बढनु स्वाभाविक भएको टिप्पणी गरे । उनले भने, “गत निर्वाचनमा पनि भरतपुर महानगरपालिका चर्चाको विषय भएको थियो, अहिले महाचर्चाको विषय बनेको छ । पार्टीको निर्णय नमान्ने सदस्यमाथिको कारबाही स्वावभाविक हो । यसका विधि राजीनामा, निष्कासन, निलम्बन आदि हुन सक्छन् ।”
बागी, विद्रोही हुने अधिकार भए पनि पार्टी अनुशासनको दायरामा बस्नुपर्ने उनले औंल्याए । साहले भने, “म त जनकपुरको मानिस हुँ । जनकपुरमा बागी भएर वृशेषचन्द्र लाल र लालकिशोरले मेयर र उपमेयर जितेका थिए । कतिपय स्थितिमा बागी हुनु पनि स्वाभाविक कुरा हो । त्यसैले बागी फिर्ता नहुँदा मित्रवत् प्रतिस्पर्धामा जोड दिनुपर्छ । यस्तो स्थितिमा जित या हारको पूर्वानुमान गर्न गाह्रो छ ।”