हेटौंडा, १६ चैत : नेकपा (एकीकृत समाजवादी) को अध्यक्ष पदबाट राजीनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् ।
बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर चुनावपछि पार्टी कमजोर हुने भन्दै उनले पार्टी परित्यागको घोषणा गरेको थिए । त्यस लगतै बिहीबार उनलाई काठमाडौंमा एमालेका अध्यक्ष केपी ओलीले एमाले प्रवेश गराएका थिए ।
पोखरेल अहिले हेटौंडाका उम्मेदवारसँग चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् । हेटौंडा-५ मा भएको चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले नेकपा एस कांग्रेसको ‘एस’ भइसकेको बताए । उनले नेकपा एससँग कुनै विचार र दृष्टिकोण नभएको आरोप लगाए ।
‘एसको विचार केवल एमालेलाई कमजोर बनाउने र नेपाली कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्नेभन्दा अरू कुनै छैन,’ उनले भने । अनन्त: पौडेलको नेतृत्वमा हेटौंडालाई सुन्दर बनाउने अभियानमा सबैजना लाग्नुपर्ने उनको भनाई छ ।