काठमाडौं, बैशाख १७ । भूकम्पबाट भत्किएको ऐतिहासिक सम्पदा धरहराको उद्घाटन गरेको एक वर्ष बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ११ वैशाख २०७८ मा नै धरहराको उद्घाटन गरेको थियो । विस्तारित धरहराअन्तर्गत धरहरा टावरको संरचना बन्न साथ हतारमा उद्घाटन गरेका कारण अहिलेसम्म पनि सर्वसाधारणका लागि खुला हुन नसकेको हो ।
धरहरा पुनर्निर्माणअन्तर्गत अहिले पनि रंगरोगन, लाइटिङलगायतका काम जारी रहेको छ । धरहराको अन्डरग्राउन्ड पार्किङसमेत सम्पन्न हुन सकेको छैन । धरहराको टावरमुनि तीनतले भूमिगत पार्किङ बनाउने काम भइरहेको छ ।
खिचापोखरीबाट टुँडिखेल जोड्ने सडक निर्माणको नयाँ योजना पनि रहेको छ । जसको काम पनि बाँकी छ । बगैंचा, पार्क निर्माणको कामसमेत बाँकी रहेको छ
निर्धारित समयमा पुनर्निर्माण सम्पन्न नभएपछि उद्घाटन गरेको एक वर्षपछि धरहराको पुनर्निर्माण म्याद फेरि करिब एक वर्ष थप्न थालिएको हो । धरहराको पुनः निर्माण अवधिको म्याद चैत मसान्तमा सकिएपछि सरकारले धरहरा पुनर्निर्माणका लागि पुनः म्याद थप्न लागेको हो । धरहरा गत मंसिरमा सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको थियो । तर, सरकारले कोभिड महामारीको कारण प्रभावित परियोजनालाई थप ६ महिना समय दिएको थियो ।
११ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्री ओलीले करिब आधा मात्र भौतिक प्रगति भएको अवस्थामा नै धरहराको उद्घाटन गरेका थिए ।सहरी विकास मन्त्रालयले हालसम्म धरहराको करिब ७५ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । मन्त्रालयले असोजसम्ममा काम सम्पन्न गर्नेगरी म्याद थप गर्ने तयारी भइरहेको जनाएको आजको राजधानी दैनिकमा खवर छ ।