दाङ, वैशाख १८ । स्थानीय तहको निर्वाचनमा आफ्नो जनमत बलियो बनाउन हेभिवेट नेताहरू जिल्ला केन्द्रित बनेका छन्। कांग्रेस, माओवादी, एमालेका केन्द्रीय तहका नेताहरू अहिले चुनावी माहोल बनाउन जिल्ला झरिसकेका छन्। उनीहरूले गाउँगाउँमा पुगेर मतदातालाई आफ्नो पक्षमा पार्न कसरत थालिसकेका छन्।
जिल्लामा आफ्नो बिरासत जोगाउन माओवादीका प्रवक्ता कृष्णबहादुर महरा र एमाले महासचिव शंकर पोखरेल चुनावी अभियानमा खटिएका छन्। यी दुवै हेभिवेटको चुनावी जिल्ला दाङ हो। अघिल्लो पटकको प्रदेश तथा प्रतिनिधिसभाबाट तालमेल गरेर प्रतिनिधिसभा र प्रदेश सभामा आफ्नो स्थान सुरक्षित पारेका महरा र पोखरेल अहिले एक अर्काको कट्टर प्रतिस्पर्धीका रूपमा उभिएका छन्।
अघिल्लो पटकको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट महरा प्रतिनिधिसभामा र पोखरेल प्रदेशसभामा पुगेका थिए। अहिले भने एकले अर्काको शक्तिलाई कमजोर पारेर आफ्नो बिरासत जोगाउने चुनौतीमा यी दुई हेभिवेट छन्। यसले स्थानीय तहको निर्वाचनमा आफ्नो जित खोजिरहेका छन्। दाङ क्षेत्र नम्बर २ मा रहेको घोराही उपमहानगरपालिकामा यी दुई नेताको जोडबल बढी छ।
यी दुवै नेताको चुनावी क्षेत्र यही क्षेत्र नम्बर २ नै हो। यस क्षेत्रमा आफ्नो पार्टीलाई जिताउनैपर्ने दबाब उनीहरूमाथि छ। यो उपमहानगरमा गठबन्धनका तर्फबाट माओवादीका हेमराज शर्मा र उपमेयरमा कांग्रेसका तर्फबाट भूपबहादुर डाँगी उम्मेदवार बनेका छन्। मेयरका उम्मेदवार शर्मा उनै महराका अति निकटस्थ नेता हुन्।
यसर्थ पनि महरालाई यो उपमहानगरको जित थप अपरिहार्य बनिदिएको छ। गठबन्धन जिताउनका लागि जिल्ला झरिसकेका महरा अहिले उम्मेदवारसँगै घरदैलामा सक्रिय भइसकेका छन्। नागरिक दैनिकबाट