काठमाडौं, १८ बैशाख । नेपाल विद्यार्थी संघका नेता मनोज वैद्यले काठमाडौं महानगरपालिकाले सबैको समस्या बुझ्ने उम्मेदवारको रुपमा सिर्जना सिंहलाई पाएको बताएका छन् ।
काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहको चुनाव प्रचार प्रसार कार्यक्रममा बोल्दै विद्यार्थी नेता वैद्यले विद्यार्थीलाई नजिकबाट बुझ्ने उम्मेदवार महानगरले पाएको बताएका हुन् । सत्ता गठबन्धनको संयुक्त उम्मेदवार सिंहले काठमाडौं महानगरको माटो बुझेको भन्दै जिताउने जिम्मा युवाहरुको भएको उनको भनाइ थियो ।
नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले महिलामाथि अन्याय गरेको भन्दै महानगरबाट विस्थापित गर्नुपर्नेमा जोड दिए । उनले भने,‘स्थापित नेकपामा बसेर राजनीति गर्ने, व्यक्तिगत स्वार्थ पुरा गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक–पटक पत्र काटेका उम्मेदवार हुन् । सेक्सुयल हुयारेसमेन्टमा पटक–पटक परेका र तमाम दिदीबहिनीको मनोबल गिराउने स्थापितलाई विस्थापित गराउने तपाई हाम्रै जिम्मेवारी हो ।’
सिर्जना सिंहले विद्यार्थी राजनीति गरेर विद्यार्थीहरुलाई नजिकबाट चिनेको वैद्यले जिकिर गरे । विद्यार्थीलाई बुझ्ने उम्मेदवार काठमाडौं महानगरले पाएको र त्यो भन्दा ठुलो हर्षित कुरा केही नभएको पनि उनले बताए । काठमाडौंका कयौं सरकारी क्याम्पसमा कुनै सुविधा र साधन नभएको उल्लेख गर्दै वैद्यले निम्न वर्गका विद्यार्थीहरुले अध्ययन गर्ने क्याम्पसमा सिंह निर्वाचित भएपछि क्याम्पसको शैक्षिक गुणस्तर र भौतिक संरचना इ–लाइब्रेरी अरुको कलेजको भन्दा उत्कृष्ट बनाउने पनि वैद्यले ठोकुवा गरे ।