काठमाडौं, १९ वैशाख । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा कर्ण मल्ल समूहले नेकपा एमालेसँग तालमेल गरिसकेको छ । मल्ल काँग्रेसबाट निष्काशित भइसकेका छन् । उनको समूह कतिपय पालिकाहरुमा महत्वपूर्ण पदहरुमा उम्मेदवार बनेका छन् । देउवाको जन्मथलो गन्यापधुरा गाउँपालिकामा पनि मल्ल समूह एमालेसँग मिलेको छ । काँग्रेसका उम्मेदवारलाई यसकारण पनि चुनौती बढेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा धेरैको चासो छ । प्रचण्डकी छोरी रेनु दाहाल भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार छिन् । गत स्थानीय चुनावमा दाहालले विजय हासिल गरेकी थिइन् । यसपटक भने काँग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पौडेल मैदानमा छन् । यसले गठबन्धनमा समेत समस्या आएको छ । पौडेललाई फकाउने प्रयास काँग्रेसका शिर्ष नेताबाट पनि सफल भएन । यो घटनाले चितवनको मात्र नभए केन्द्रको गठबन्धनमा पनि ठूलो असर पर्ने देखिएको छ ।
माओवादीको आधार क्षेत्र रोल्पामा समेत नयाँ चुनौती देखिएको छ । त्यहाँ विप्लवका उम्मेदवारले अन्य पार्टीका उम्मेदवारसँग तालमेल बनाएका छन् । रोल्पामा माओवादी एकातर्फ र बाँकी दल र समूह अर्कातर्फ छन् । यसकारण रोल्पामा माओवादीलाई यसपटक निकै चुनौती परिरहेको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीको सबैभन्दा बलियो संंगठन रहेको भनिएको पालिका हो ललितपुरको महालक्ष्मी नगरपालिका । उक्त नगरपालिकामा उपमेयर नेकपा एसकी छिन् । महालक्ष्मी ललितपुर क्षेत्र नं २ र प्रदशको २ क मा पर्छ । दुवैमा निर्वाचित सांसद नेकपा एसका छन् । एमाले फुट्दा महालक्ष्मीका बहुसंख्यक प्रतिनिधि एसमा गए । तर, यही पालिकामा नेकपा एस गठबन्धनमा एक्लिएको छ ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले मात्र गठबन्धन गरेका छन् । एस एक्लो छ । माधव नेपाल नेतृत्वको नेकपा एसको पकड क्षेत्रमै यस्तो अवस्था आउनुले चुनावी परिणाममा असर पर्न सक्ने विश्लेषण भइरहेका छन् ।
झापा नेकपा एमालेको पकड क्षेत्र हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला भएकाले झापामा चासो बढेको छ । तर, ओलीको गृह क्षेत्र दमक नगरपालिकामा एमालेबाहेकको गठबन्धन छ । त्यहाँ, काँग्रेस, माओवादी र राप्रपाको तालमेल बनेको छ । यसरकारण एमाले उम्मेदवारलाई त्यहाँ चुनाव निकै चुनौतीपूर्ण बनेको छ ।
गठबन्धनको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको गृहजिल्ला मोरङ हो । त्यहाँ उनका छोरा अमरेन्द्र यादव विराटनगर महानगरपालिकामा उपमेयरका उम्मेदवार छन् । तर, जसपाभित्रबाट विद्रोह भएको छ । गत स्थानीय चुनावमा जसपाको मेयर उम्मेदवार उमेश यादव बागी उठेका छन् । माओवादीकी गत चुनावकी उपमेयर उम्मेदवार नमिता न्यौपाने पनि बागी छिन् । नमिताको उम्मेदवारीले अमरेन्द्रलाई चुनौती बनेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला पनि झापा हो । उनको निर्वाचन क्षेक कचनकवलमा राप्रपा एक्लिएको छ । त्यहाँ काँग्रेस, एमाले र माओवादी मिलेका छन् । यसकारण राप्रपालाई चुनाव जित्न कठिन भएको छ ।
तनहुँ काँग्रेस नेता रामचन्द्र पौडेलको गृहक्षेत्र हो । त्यहाँ गोविन्दराज समूह गठबन्धनविरोधी दलहरुसँग तालमेल गरेर चुनाव लड्दैछ । यसले पौडेलका उम्मेदवारहरुलाई चुनौती बढेको छ ।
यसरी शिर्ष नेताहरु आफ्नै गृह क्षेत्र र पकड क्षेत्रका पालिकाहरुमा चुनौती भोग्न थालेका छन् । नेताहरु ती क्षेत्रमा आफ्ना उम्मेदवारलाई चुनाव जिताउन रणनीतिक रुपमा लागेका छन् । तर, त्यो सजिलो भने छैन ।