Logo

सानोतिनो कुरा नगरौं, एमालेले हलोमा भोट हाल्दैनः कर्ण थापा



काठमाडौं, १९ वैशाख । नेकपा एमालेका नेता कर्ण थापाले आफ्नो पार्टी कसैको बैसाखी टेकेर नीतिहीन गठबन्धनमा सामेल नहुने स्पष्ट पारेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने, “मूलभूत रुपमा हामी गठबन्धनमा छैनौं । हामीले नीतिहीन, सिद्धान्तहीन, विचारहीन र मूल्यहीन गठबन्धन गरेका छैनौं । सबै नेपाली जनता र शक्तिको सही ढंगले नेतृत्व गरेका छौं । त्यसैले देशभरि धेरै ठूलो उत्साह पैदा भएको छ । नेकपा एमाले आफ्नो खुट्टामा उभिएको छ ।”
तालमेल भएका स्थानमा सबैले सूर्य चिह्नमा मतदान गर्ने दाबी पनि थापाले गरे । उनले भने, “सूर्य चिह्नभित्र देश बनाउने उद्देश्य छ । त्यसैले सबैलाई त्यसमा समाहित गरेका छौं । विभिन्न पार्टीमा असल मानिस छन् । उनीहरुसँग सहकार्य गरेका छौं । त्यसैले सबैलाई हामीले सूर्य चिह्न दिएका छौं । हामी कहीं पनि अरुको चिह्नमा मतदान गर्दैनौं । हामीले हलो चिह्न वा हँसिया हथौडामा मतदान गर्नुपर्दैन । । अपवादका रुपमा सानोतिनो कुरा नगरौं ।”
नेपाली कांग्रेस सिद्धान्तहीन गठबन्धन गरेर सकिन लागेको पनि उनले औंल्याए । थापाले भने, “नेपालमा दुई ठूला, बलिया र शक्तिशाली पार्टी एमाले र कांग्रेस नै हुन् । तर हामी नेपाली कांग्रेसजस्तो हामी कसैको पछि हिँडेका छैनौं । हामीले विचारलाई तिलाञ्जलि दिएका छैनौं । नेपाली कांग्रेसले सिद्धान्तविहीन, मूल्यहीन, विचारहीन भएर सकिन लाग्यो । कांग्रेससँग गठबन्धन, गठबन्धन भनेर सत्ता टिकाउनेबाहेक कुनै योजना छैन । त्यसैले बेथिती सुरु हुने भयो । लोकतान्त्रिक परिपाटी कमजोर हुने भयो । अब जनताले आशा र भरोसा गरेको पार्टी नेकपा एमाले मात्रै हो ।”



प्रतिक्रिया दिनुहोस्