Logo

प्रहरी प्रमुख बढुवा सामान्य प्रक्रिया हो, सरकारले पद रिक्त भइसकेपछि गरेकाले विवादित भयोः पूर्व आईजीपी



काठमाडौं, १९ वैशाख । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) ध्रुवबहादुर प्रधानले संगठनका वरिष्ठ अधिकारीले मै प्रमुख हुनुपर्थ्यो भन्नु स्वाभाविक भए पनि त्यो सरकारको अधिकार क्षेत्र रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व आईजीपी प्रधानले भने, “यो कानुनी व्यवस्था बमोजिम हुने सामान्य प्रक्रिया हो । सरकारको अधिकार क्षेत्रको कुरा हो । तर, प्रमुखले अवकाश लिइसकेपछि आईजीपी बढुवा भएकाले विवादित भयो । निर्वाचनको संघारमा गर्नुभन्दा अलिक पहिले नै गर्नुपर्थ्यो । त्यसो तोक्न नसक्दा संगठनमा अन्योलको वातावरण हुन्छ । अहिले गठबन्धन सरकार भएकाले अलिकति तानातान भयो होला र समय लाग्यो । प्रहरी प्रमुख जोसुकै बनून् बनाउनै पर्थ्यो । मलाई लाग्छ, वरिष्ठ, राम्रो, सक्षम र योग्यतम व्यक्ति नै बनेका छन् ।”
वरिष्ठ प्रहरी अधिकारीहरु सर्वोच्च अदालत जाने भएपछि त्यसले दिने फैसला सबैलाई मान्य हुने पनि उलनले औंल्याए । प्रधानले भने, “सिनियरले म हुन्छु, म ठीक छु, योग्य छु भन्नु स्वाभाविक हो । नेपाल प्रहरीको लामो इतिहास छ । त्यसअघि पनि यस्ता कुरा भएका छन् । तर हामीले अगाडि आएको कुरा मात्र देख्छौं । समय अनुसार कसको के आवश्यकता हुन्छ, त्यसको मूल्यांकन गर्ने काम सरकारकै हो ।
पहिले पनि प्रहरीमा विवाद ल्याउने शेरबहादुर देउवा नै हुन्, अहिले गर्ने पनि उनै छन् । असन्तुष्ट प्रहरी अधिकारीहरु सर्वोच्च अदालतमा जान सक्छन् । त्यहाँ गइसकेपछि उसले यसको कानुनी व्याख्या गर्ला ।”
स्थानीय तहको निर्वाचनमा तपाईंहरु”ले त गणतन्त्रवादीसँग हातेमालो गर्नुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष समेत रहेका प्रधानले भने,” हामीले केन्द्रबाट कसैसँग तालमेलको निर्णय गरेका छैनौं । स्थानीय तहले नै के कसरी विजय हासिल गर्न सकिन्छ भनेर गठबन्धन गरेका होलान् । तर धेरै ठाउँमा तालमेल छैन । राप्रपाप्रति जनलहर उर्लेको छ, युवाको आकर्षण बढेको छ, राष्टलाई बचाउने र बनाउने विचारलाई जनसमर्थन बढेको छ । हामीले धेरै ठाउँमा जित्ने अवस्था छ ।”



प्रतिक्रिया दिनुहोस्