काठमाडौं, १९ वैशाख । इन्स्पेक्टरमा आफ्नो ब्याचका टपर थिए धीरज प्रताप सिंह । १२ चैत्र २०४९ मा टपर बनेर प्रहरी सेवामा प्रवेश गरेका सिंह डिएसपी हुँदा पनि वरियतामा नम्बर वान नै रहे ।
गोरखा र दोलखामा खटिए उनी । डिएसपी हुँदा नै जिल्लाको कमाण्ड सम्हाले । एसपी हुँदा पनि सिंह नम्बर वान नै बने । उनले नुवाकोट र दाङको कमाण्ड सम्हाले । प्रहरी अपराधीप्रति रक्षात्मक नभई आक्रामक हुनुपर्ने पक्षका सिंहले त्यस्तै क्षेत्रमा जिम्मेवारी बहन गरे ।
पर्सा, अपराध अनुसन्धान मशाशाखा, मधेश प्रदेश र सीआइबीको कमाण्ड सम्हाले । ती क्षेत्रहरु जोखिमले भरिएका थिए । विवादमा आउने चुनौती पनि थियो । तर, उनले चुनौती रोजे ।
एसपी हुँदा सम्म नम्बर वान बनेका धीरज प्रताप सिंह एसएसपी हुँदा नम्बर २ मा परे । एसपी हुँदासम्म उनलाई धेरैले भावी आइजीपी देखिसकेका थिए । तर, एसएसपी हुँदा पछि परेपछि अरुको सम्भावनाबारे चर्चा हुन थाल्यो । डिआइजी बढुवा हुँदा सिंह पछि परे । त्यसपछि उनी आइजीपी बन्न नसक्ने अनुमानहरु भइसकेका थिए ।
सिंहका ब्याचीहरुले छलाङ मार्दै बढिसकेका थिए । उनी निकै पछि परिसकेका थिए । उनी डिआइजी बढुवा त भए तर वरियतामा पछाडि थिए । उनका ब्याची दुई अधिकृतहरु एआइजी बने । उनी डिआइजीमै महिनौं रहे । आइजीपीमा उनकै ब्याचीका विश्वराज पोखरेल र सहकुल थापा एआइजी भएकाले मुख्य प्रतिष्पर्धी देखिए । सबैको ध्यान उनीहरुतर्फ गएको थियो ।
घटनाक्रम यसरी विकास भयो कि धीरजप्रताप सिंहको रोचक कमब्याक भयो । जसरी उनका ब्याची दुई एआइजीले दरबन्दी थप्ने अवस्था बनाएर एआइजीमा बढुवा पाए उनको पनि त्यसैगरी बढुवा भयो । सिंहको पुनरागमनलाई चासोका साथ हेरियो ।
दैलेखमा जन्मिएका र नेपालगञ्जमा स्थायी बसोबास गरेका सिंहलाई शेरबहादुर देउवा प्रधानमन्त्री हुनुले निकै फाइदा पुग्यो । देउवा सुदूरपश्चिमका हुनुले सिंहको पृष्ठभूमि र विगतका संघर्षलाई बुझ्न तयार भए । इन्स्पेक्टरमा नम्बर एक र एसपी सम्म वरियतामा पहिलो भएका सिंह पछि कसरी परे भन्ने देउवाले गहिरोसँग बुझेको विश्वस्त स्रोतले बताएको छ । त्यसपछि उनले सिंह नै आइजीपीका लागि सक्षम देखे । सबै किसिमका दबाब पन्छाएर देउवाले सिंहलाई आइजीपी बनाउने निर्णय १८ वैशाखको मन्त्रिपरिषदबाट गराए ।
२० कात्तिक २०२४ मा कर्णालीको दैलेखमा जन्मिएका सिंह निकै संघर्षका साथ प्रहरी सेवामा लागेका थिए । दैलेखमा जन्मिएका र पछि नेपालगञ्जमा हुर्किएका सिंहले इन्स्पेक्टरमा टप गर्नुले नै उनी निकै क्षमतावान् थिए भन्ने देखाउँछ । त्यसमाथि दुई पटकको बढुवामा आफ्नो ब्याचीमा नम्बर वान नै थिए ।
प्रहरी सेवामा उत्कृष्ट काम गरेकाले तीनवटा विभूषणहरु पाए । कार्यक्षमतामा अब्बल रहेकाले उनले उत्कृष्ट पुनरागमन गरेर आइजीपीमा बाजी मारे ।