काठमाडौँ,१९ वैशाख । मनाङका बासिन्दालाई अहिले यार्सागुम्बा सङ्कलन गर्न चटारो छ । जेठ दोस्रो सातादेखि सङ्कलन गर्ने समय भएपनि मनाङवासी तीन साता अघि नै यार्सागुम्बा खोज्न व्यस्त छन् ।
जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको हो । एक्यापले समितिमार्फत पूर्जी दिने निर्णय गरेको छ । यार्सागुम्बा सङ्कलनसँगै मनाङवासीलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्नुपर्ने अवस्था छ ।
जडीबुटी मनाङवासीको मुख्य आयस्रोत मानिन्छ । उनीहरुलाई आयस्रोत जुटाउने र निर्वाचनमार्फत प्रतिनिधि चयन गर्नुपर्ने दोहोरो चटारो छ । यार्सागुम्बा सङ्कलन गर्न मनाङवासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गरेका छन् । जडीबुटी सङ्कलनको समय भएकाले यहाँको सुरक्षाका लागि चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए। “यार्सागुम्बा सङ्कलन क्षेत्रमा सुरक्षाकर्मी पुग्नुपर्ने हुन्छ । निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था मजबुद बनाउन जुटेका छौंँ,” उनले भने ।
नाम्केखर्क, नारफु, माथिल्लो मनाङको खाङ्सार खर्कदलगायत क्षेत्रमा यार्सागुम्बा सङ्कलन गरिँदै आएको एक्याप इलाका कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिए। असार अन्तिम हप्तासम्म यार्सागुम्बा सङ्कलन गरिन्छ । मनाङवासीलाई नागरिकता वा बसाइँसराइको प्रमाणपत्रका आधारामा यार्सागुम्बा सङ्कलनको पूर्जी दिइन्छ ।
यार्सागुम्बा सङ्कलनको परिचयपत्र सम्बन्धित संरक्षण क्षेत्र, व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिइने गौतमले बताए । मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलक र खरिद गर्न आउने व्यक्तिले अनिवार्य रुपमा कोभिड–१९ विरुद्धको खोप लगाएको परिचयपत्र लिएर आउनुपर्ने छ ।
दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलन र खरिद बिक्री हुन नसक्दा जिल्लाको राजस्व घटेको थियो । यसवर्ष जडीबुटी सङ्कलन भइरहेकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ । रासस