काठमाडौं, १९ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर वडा नम्बर २ को अध्यक्षका नेपाली कांग्रेसका उम्मेद्धवार सूर्यलाल महर्जन चुनाव जित्नेमा विश्वस्त छन् । विगत लामो समयदेखि समाजसेवामा सक्रिय महर्जन वडावासीहरुमाँझ लोकप्रिय छन् । उनको व्यक्तित्व नै निश्पक्ष, निडर, अनुशासित, विवेकी, सिर्जनशील छ ।
आफ्नो उम्मेद्धवारीबारे महर्जनले रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा भने–‘वडावासीलाई दैनिक सेवा पुर्याउने कार्यलगायत वडालाई सुन्दर, शान्त र सुविधासम्पन्न विकसित वडाको रुपमा स्थापित गराउनको लागि मेरो उम्मेद्धवारी हो । म विगत लामो समयदेखि समाजसेवामा पनि सक्रिय छु ।’ वडाका नागरिकको रोजगारी कसरी सिर्जना गर्ने भन्ने विषयमा योजना निर्माण गरी कार्यान्वयन गराउन सक्ने व्यक्तिलाई स्थापित गराउनको पनि आफ्नो उम्मेद्धवारी भएको उनको भनाई छ ।
उनले वडामा सुशासनका सिद्धान्त कानुनी शासन, विकेन्द्रीकरण, पारदर्शीता, जवाफदेहिता, सहभागिता तथा भ्रष्टाचार न्यूनीकरणलाई व्यवहारमा स्थापित गराउन आफ्नो उम्मेद्धवारी भएको पनि उल्लेख गरेका छन् । महर्जनले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामका योजना तथा कार्यक्रमहरु पनि सार्वजनिक गरेका छन् । उनले शिक्षाको क्षेत्रमा आमूल सुधार ल्याउनेगरि काम गर्ने योजना सुनाए । सामूदायिक विद्यालय स्थापनाको पहल गर्ने, डिजिटल लाईब्रेरी स्थापना गर्ने, स्पेस टु रिडको स्थापना गर्ने र संस्थागत विद्यालयद्धारा उपलब्ध १० प्रतिशतको निःशुल्क छात्रवृत्ति कडाईका साथ लागु गर्ने कार्यक्रम सुनाए ।
त्यस्तै, स्वास्थ्यको क्षेत्रमा पनि सुधारको काम गरिने महर्जनले विश्वास दिलाए । उनले सुगर, ब्लडप्रेसरसम्बन्धी जाँच निःशुल्क लगायत डायलाईसिस मेशिन, एक्स–रे तथा ल्यावको स्थापना गर्ने जनाए । त्यस्तै, ५० प्रतिशत स्वास्थ्य वीमा रकम उपलब्ध गराउने पनि उनले आफूहरुको कार्यक्रम रहेको बताए । सामाजिक सुरक्षा भक्ता भने घरघरमै गएर वितरण साथै वार्षिक नविकरण पनि घरघरमै पुगेर गरिने योजना रहेको सुनाए । वडामा शून्य फोहोरको अवधारणा लागु गरिने पनि उनले जनाए ।
२०१७ साल साउन १७ गते जन्मिएका महर्जनले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् । उनी लाजिम्पाट क्लबका संस्थापक सदस्य हुन् । उनी नेपालका प्रायः सबै क्षेत्रमा पुगेका छन् । विदेशमा भने भारत, हङकङ, थाईल्याण्ड, बंगलादेश, जापान र अष्ट्रेलियाको भ्रमण गरेका छन् ।
हालसम्म उनले १११ पटक रक्तदान गरिसकेका छन् । उनी ब्लड डोनर एशोसिएसनका सक्रिय सदस्य हुन् । सेन्ट्रल ब्लोदानको भने सचिवदेखि उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् । महर्जनको टिममा वडा सदस्यमा अनिल कुमार सिंह, राकेश रजक, महिला वडा सदस्यमा सपना थापा र वडा दलित महिला सदस्यमा निरा देउला रहेका छन् ।