काठमाडौं, २० वैशाख । नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्लले प्रहरीको सरुवा-बढुवाका अधिकार गृहमन्त्रालयबाट बालुवाटारमा सरेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मल्लले भने, “प्रहरी संगठन भनेको जनताको दैनिक दिनचर्यासँग जोडिएको छ । तर प्रहरीको सरुवा-बढुवाका अधिकार समेत गृहमन्त्रालयमा छैन, सीधै बालुवाटारमा सर्यो । गृहमन्त्रालयले जिल्लाको एसपी सरुवा पनि गर्न सक्दैन । प्रधानमन्त्रीका आसेपासेहरु सिपाही, हवल्दारको सरुवा बढुवामा रमाइरहेका छन् । चेन अफ कमान्ड आईजीपीको हातमा छैन । आईजीपीले नेताको आज्ञा शिरोधार्य गर्ने मात्र हो । केपी ओलीको समयदेखि नचाहिँदो हस्तक्षेप र हालीमुहाली हुने क्रम झन् झन् बढ्दै गएको छ । ओली सरकारले नचाहिँदो पद थपेर विश्वराज पोखरेललाई डीआईजी बनाए ।”
राजनीतिक हस्तक्षेपले प्रहरी संगठन ध्वस्त भएको टिप्पणी उनले गरे । मल्लले भने, “राजनीतिक नेताले प्रहरी संगठनलाई आफ्नो हातमा चलाउने लोभले गरेका हस्तक्षेप गरेका हुन् । २०४६ सालपछि यो क्रम खुलेर आयो । शेरबहादुर देउवा गृहमन्त्री हुँदा आईजीपी रत्नशमशेर राणालाई फाले । त्यस्ता थुप्रै काम भए । डीआईजी १६ जना पुर्याए । नेता, कलाकार वा ब्रोकरले पुलिसिङ गरे भने के हुन्छ ? गलत मानिसको हालीमुहाली भए के होला ? यसै भन्न सकिन्छ । नेपालका नेता राजनेता भएनन् परिवारका नेता भए, टोलका या पार्टीका नेता भए । बढुवाको आधारमा सेवावधि, ज्येष्ठतालाई मिचे । एउटा गल्तीमाथि अर्को गल्ती थपे ।”
नेताहरुले सुपारी तस्करी गराउने, विपक्षीलाई तह लगाएर चुनाव जित्ने, प्राकृतिक स्रोतको दोहनका लागि नेपाल प्रहरी र स्थानीय प्रशासनलाई प्रयोग गरेको आरोप पनि उनले लगाए । मल्लले थपे, “बढुवाका बेला एसपीदेखि एआईजीसम्म अफिसमा भेटिँदैनन् । एक डेढ महिनादेखि चित्तल, कस्तूरी जसरी दौडिरहन्छन् । कहाँ कहाँ दौडिन्छन् ? थाहा छैन । गणेश प्रवृत्तिले महत्त्व पाउँदा संगठनमा निराशा छाउँछ । प्रहरी संगठनको स्वार्थ विरुद्ध काम गर्ने अधिकारीलाई नेतासँग नजिक भए कारबाही हुन नसक्ने अवस्था छ । राजनीतिमा अपराधीकरण, व्यापारीकरण, दण्डहीनता हावी छ । उद्योग वाणिज्य महासंघ हो कि राजनीतिक पार्टी हो भनेर छुट्याउन मुस्किल छ । यसले अन्ततोगत्वा सबै क्षेत्रलाई असर गर्छ । मेरो भनाइ के हो भने पुलिसिङ प्राविधिक काम हो । यो काम प्रहरीलाई नै छाडिदिऊँ । राम्रा मानिसलाई प्रमोट गरौं ।”