काठमाडौं, २१ वैशाख । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी ओली संघदेखि प्रदेशसम्मका सरकार गुमेपछि बिहानदेखि साँझसम्म बर्बराइरहेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भण्डारीले भने, “नेताले अवसर पाउँछ । अवसर पाएको बेला काम गर्नुपर्छ । केपी ओलीजी बिहानदेखि साँझसम्म बर्बराइरहनुहुन्छ । तर केपीजीले भाषण त गरे पनि मुलुक बनाउन सक्नुभएन । आफ्नै दुई तिहाइको सरकार चलाउन सक्नभएन । आफ्नै पार्टीका साथीहरुलाई सँगै लिएर जान सक्नुभएन । संघको दुई तिहाइको सरकार अनि ६ वटा प्रदेश सरकार आफैंले ढाल्नुभयो । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता देखाउन सक्नुभएन । भ्रष्टहरुबाट घेरिएर भ्रष्टाचारको अन्त्य हुन्छ भन्ने मलाई लाग्दैन ।”
कांग्रेस नेता भण्डारीले गठबन्धनको प्रभाव बिस्तारै राम्रो र प्रभावकारी देखिएको पनि बताए । उनले भने, “अहिले म गुल्मीको मुसिकोट नगरपालिकामा छु । आआफ्नो दलको इतिहास, गौरव र लक्ष्य अनुसार फरक फरक तरिकाले जानुपर्छ भन्ने मेरो दृष्टिकोण हो । अझ स्थानीय तहलाई पार्टीविहीन बनाउनुपर्छ भन्ने पक्षमा थिएँ । तर पार्टीले गठबन्धनमा जाने निर्णय गरेपछि त्यसको विपरीत जान सक्दिनँ । गठबन्धन मूलतः सैद्धान्तिकभन्दा पनि निर्वाचन जित्ने हिसाबले बनेको छ । माथिल्लो तहको हस्तक्षेपले केही कमजोरी देखिएको छ । आफ्नो मान्छेलाई टिकट दिने हिसाबले गरिएको छ । यद्यपि गठबन्धन दलहरुबीच सौहार्दता छ । हामीले कसैको आलोचना गरेका छैनौं । गुल्मीमा गठबन्धन अन्यत्रभन्दा फरक छ ।”
भण्डारीले स्थानीय तहमा भ्रष्टाचार बढेकाले यो निर्वाचनबाट त्यसमा सुधार आउन सक्ने विश्वास व्यक्त गरे । उनले भने, “सिंहरदरबार टाढा भए पनि गाउँमै सरकार छ भन्ने अनुभूति त भयो । तर संघमा ६० प्रतिशत भ्रष्टाचार छ भने स्थानीय तहमा १५, २० प्रतिशत भ्रष्टाचार छ । कडा कानुन र नयाँ विचारसहित नयाँ नेतृत्व आयो भने यो निर्वाचनबाट त्यसमा करेक्सन हुन सक्छ भन्ने आशा गरेका छौं ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण हुनु सकारात्मक भएको पनि उनले औंल्याए । भण्डारीले भने, “कुनै पनि देशका प्रधानमन्त्री लुम्बिनी आउनु राम्रो कुरा हो । दुई देशबीच सम्बन्ध बढाउनु पनि राम्रो कुरा हो, तर त्यसबाट मुलुकले के पाउँछ भन्ने कुरा प्रमुख हो । तर मोदीजी लुम्बिनी आउने कुराले हामी खुसी छौं ।”