Logo

देउवालाई प्रचण्डले धोका देलान् ?



काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भरतपुर महानगरपालिकाको गठबन्धनको सभामा सहभागी भए । देउवाले २०७४ को स्थानीय निकायको चुनावमा पनि यसरी नै पुगेर रेनु दाहाललाई जिताउन आग्रह गरेका थिए । रेनु त्यतिबेला मुश्किलले जितिन् ।

यसपटक देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको भन्दै भरतपुरको चुनावलाई गठबन्धनको भविष्यसँग जोडिएको संकेत गरे । तर, एउटै मञ्चमा उभिएर भाषण गरेका काँग्रेसका चितवन जिल्लाका नेताहरुले विगतमा प्रचण्डले आफ्नो पार्टीका सभापति शेरबहादुर देउवालाई धोका भएको बताए । देउवा सोझा भएको भन्दै प्रचण्डलाई धोका नदिन भने ।

२०७४ को स्थानीय चुनावमा देउवाले रेनु दाहाललाई सघाएपनि संसदको चुनावमा प्रचण्ड नेकपा एमालेसँग मिल्न पुगेका थिए । प्रचण्डले त्यतिबेला आफूले जानकारी दिएरै गठबन्धन छाडेको र रुखवालाले आफूहरुलाई भोट दिन तयार नभएको कारण भने । फेरि पनि त्यस्तै अवस्था रहे गठबन्धन नै तोडिन सक्ने भने ।

विगत र वर्तमानमा खासै फरक छैन । त्यतिबेला पनि प्रचण्डले देउवाको साथ पाए । सरकार तालमेलमा चलाए । तर, प्रचण्डले देउवालाई सत्ता सुम्पिएर चुनावको मुखमा केपी शर्मा ओलीसँग हातेमालो गरे । काँग्रेस नराम्ररी चुनावमा पछारियो ।

स्थानीय चुनावमा काँग्रेसको कार्यकर्ताको मत नपाएर तालमेल भएका ठाउँहरुमा प्रचण्डलाई धक्का लागेमा स्थिति उल्टन सक्ने सम्भावना नभएको होइन । यो अवस्था नआओस् भनेर काँग्रेसका मतदातालाई घुमाउरो तरिकाले प्रचण्डले चेतावनी समेत दिएका छन् । उनले भनेका छन्,‘प्रचण्डलाई धेरै टेन्सन दिन चाहनुहुन्छ कि गठबन्धन बलियो बनाउन चाहनुहुन्छ ?’

प्रचण्डले ओलीसँग मिलेर गल्ती भएको समेत भनेका छन् । आफूले धेरै हन्डर ठक्कर खाएर चेतेको पनि भनेका छन् । उनले गठबन्धन नटुट्ने बताइरहे । तर, चुनावी परिणाम तलमाथि भए प्रचण्डले फरक कदम चाल्न सक्ने सम्भावना नभएको होइन । उनी आश्चर्यजनक र जोखिमयुक्त कदमहरु चाल्ने गर्छन् । २०७४ सालमा त्यस्तै गरे ।



प्रतिक्रिया दिनुहोस्