Logo

मलंगवाले गुमाएको साख फर्काउँछु : नागेन्द्र प्रसाद यादव



सर्लाही, २४ बैशाख । आसन्न वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा सर्लाही जिल्लाको सबै भन्दा पहिलो र एतिहासिक मानिने मलंगवा नगरपालिकामा यसपालि रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । नेपाली कांग्रेसको तर्फबाट मलंगवा नगरपालिकाका लागि मेयरको प्रत्यासी उम्मेदवार नागेन्द्र प्रसाद यादव छन् भने अर्कातिर ६–७ जना मेयर प्रत्यासी विभिन्न पार्टीबाट चुनावमा उम्मेदवारी दिएको छ ।

यस भन्दा पहिला २०७४ सालको स्थानीय निर्वाचनमा स्वतन्त्रबाट मलंगवा नगरपालिकाको लागि मेयर पदमा उठे पनि सानो मतले हार व्यहोर्नु परेको थियो । पछि प्रदेश सभासदस्यमा पनि उम्मेदवारी दिएपनि विजयी हुन नसकेका यादव यसपालि भने आफूले जित्नेमा पूर्ण विश्वस्त छन् ।

यसपालि चुनाव जित्नेमा पूर्ण विश्वस्त रहेका यादवसँग रिपोटर्स नेपालकर्मी बखतियार अलिले गरेको कुराकानीको अंश । चुनावी एजेण्डा, जित्ने आधार लगायतका विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ यादवसँग गरिएको कुराकानीको सम्पादित अंश । घरदैलोमा मलंगवावासीको कतिको सहयोग पाई राख्नु भएको छ  ? सोचेको भन्दा राम्रो प्रतिक्रिया पाइरहेकाले हामीलाई थप ऊर्जा मिलेको छ । पूर्वमेयरले नगरका लागि केही नगरेको गुनासो नगरबासीहरु सुनाउनु हुन्छ ।

उहाँहरु अब तपाईंले केही गर्नुपर्छ भनेर भन्नुहुन्छ । मबाट धेरै आशा गर्नुभएको छ । प्रचार–प्रसारमा हामीले सबैभन्दा जोड घरदौलोमा दिएका छौँ । बिहानदेखि बेलुकासम्म हरेक वडाका हरेक घरमा पुगेर आफ्ना कुरा राख्दै भोट मागिरहेका छौँ । यसका अलावा विभिन संघसस्थासँग कसरी कांग्रेसलाई जिताउने भनेर छलफल, परामर्श र सल्लाह गरिरहेको छु । मेयरको उम्मेदवार बन्दै गर्दा मलंगवालाई समृद्ध नगर बनाउन के–के छन् तपाईंका एजेण्डा ? चुनावका लागि हाम्रो संकल्पपत्र जारी भइसकेको छ । हामीले आवश्यकताका आधारमा हाम्रा कामलाई विभिन्न चरणमा विभाजन गरेका छौँ ।

पहिलो चरणमा नागरबासीको दैनिकीलाई सहज र समृद्ध बनाउन सहयोग गर्ने कुरालाई मुख्य प्राथमिकतामा राखिएको छ । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी, कर व्यवस्थापन लगायतका विषयमा जोड दिएका छौँ ।  मलंगवा ऐतिहासिक र सब भन्दा पुरानो नगरपालिका हो तर, यहाँका अधिकांश नगरबासीलाई रोजगारीको समस्याले पिरोलेको छ । हरेक दिन सयौँ युवाहरु रोजगारीको खोजीमा छिमेकी मुलुक भारत देखि खाडीतिर पलायन हुन बाध्य छन् ।

हामीले यो समस्यालाई गम्भीरताका साथ हेरेका छौँ । उनीहरुलाई यहीँ कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर एउटा विज्ञको टोली बनाएर उद्योगीसँग परामर्श भइ रहेको छ । नगरबासीहरु दिन प्रतिदिन करको बोझले थिचिइरहेका छन् । यो समस्या निदान गर्न व्यक्तिको आर्थिक स्थितिलाई ध्यानमा राखेर करको दायरा तोक्ने हाम्रो नीति छ । आयस्रोत कम भएकालाई करै नलाग्ने योजना अगाडि सारिएको छ । मलंगवालाई खुला दिसापिसाब मुक्त क्षेत्र घोषणा गरिएको छ ।

तर, न्यून आर्थिक स्तर भएका नगरबासीको घरमा शौचालय छैन । खुला दिसापिसाब मुक्त क्षेत्र घोषित गर्नुपूर्व बिहान–बेलुका हातमुख जोड्न धौधौ हुनेले कसरी शौचालय बनाउन सक्लान् भनेर सोच्नुपर्छ कि पर्दैन ? हामीले यो विषयलाई ध्यानमा राखेर शौचालय बनाउन नसक्ने नगरबासीको घरमा निःशुल्क शौचालय बनाउने नीति बनाएका छौँ । अपवाद बाहेक यहाँका अधिकांश सरकारी कार्यालय र कर्मचारीहरु भ्रष्ट छन् । कर्मचारीलाई भेटी नचढाइन काम नहुने समस्या छ ।  यस नगरमा व्याप्त कुशासनलाई जरैदेखि उखेल्ने योजना छ । नेपाल कृषिप्रधान देश हो । तर, धेरै किसानले खेतीबालीको बेला समयमै मलखाद पाउँदैनन् । जसका कारण उनीहरुको उत्पादनमा ह्रास आउँछ ।

हामीले यो समस्यालाई भित्रैदेखि बुझेका, मनन गरेका छौँ । नगरको समन्वयमा प्रत्येक किसानलाई समयमै मलखादको बन्दोबस्त गर्नेछ । त्यस्तै, शिक्षा र जनचेतनाको अभावका कारण यहाँका महिला, दलित लगायतका समुदायहरु पीडित छन् । यहाँ हरेक वर्ष कयौं महिलाहरु दाइजो नल्याएको निहूमा घरेलु हिंसामा चरम यातना भोग्नु पर्छ , दलितहरु जातीय विभेदको शिकार हुन्छन् ।

यी घटनाहरु शिक्षा र प्रभावकारी कानूनको अभावका उपज हुन् । हामीले महिला, दलित लगायतका सीमान्त समुदायलाई विशेष ध्यानमा राखेर शिक्षाका कार्यक्रम अगाडि बढाउने छौँ । हाम्रो ध्यान विशेषगरी हरेक तह–तक्पामा शिक्षा, स्वास्थ्य र विकास पुर्याउनेमा केन्द्रित छ । अनि गुरु योजना चाहिँ के छन् त ? मलंगवामा पर्यटन व्यवसायको पनि उत्तिकै सम्भावना छ । आन्तरिक र बाह्य दुवै किसिमका पर्यटकलाई आकर्षित गर्ने सौन्दर्य र सम्भावना मलंगवासँग छ ।

तर, सम्भावनाका क्षेत्र पहिल्याएर प्रबद्धन गर्ने त धेरै परको कुरा पहिल्यैबाट प्रसिद्धि कमाएका पर्यटकीय क्षेत्रलाई समेत नजर अन्दाज गरिएको छ ।  मलंगवामा विभिन्न ऐतिहासिक शक्तिपीठ तथा अन्य पर्यटकीय क्षेत्रहरु ओझेलमा परेका छन् । पहिल्यै प्रसिद्धि कमाइसकेका र सम्भावना बोकेका क्षेत्रलाई पहिल्याएर मलंगवालाई पर्यटकीय क्षेत्र बनाउने हाम्रो लक्ष्य छ ।  मास्टर प्लान अन्तर्गत नै हामीले मलंगवालाई स्मार्ट सिटी बनाउने नीति लिएका छौँ ।

सुचना तथा प्रविधिको भरपूर उपयोग गरी नागरिकले सरकारी कार्यालय पुग्नुपर्ने बाध्यता हटाउनेछौँ । ढल व्यवस्थापनको समस्या यहाँको एउटा प्रमुख समस्या हो । हामीले केही वर्षभित्र अस्तव्यस्त ढललाई व्यवस्थित गर्नेछौँ । यसबाहेक अरु पनि धेरै गुरु योजना छन्, दीर्घकालीन योजना छन् । समग्रमा भन्नुपर्दा हामी सदरमुकाम मलंगवालाई साँच्चिकै नरक पालिकाबाट नगरपालिका बनाउने छौँ । यहाँ आउने हरेकले अनुभूति गरुन् र भनून– वाह ! क्या नगर ! यसपालि तपाईंको जित्ने आधार के हो ? यो निर्वाचनमा मेरो जित सुनिश्चित छ ।

हरेक वडाका हरेक नागरिकसँग भेटेको छु, उहाँहरुको इच्छा–आकांक्षालाई बुझेको छु । सबैको मन जित्ने र बिश्वास जित्ने काम गरिरहेको छु । मलंगवाबासीले यी वर्षमा पहिलाका जनप्रतिनिधीका काम देखि सक्नु भएको छ ।  मलंगवाको कुल २८ हजार ९ सय ९२ जना मतदाता छन् । कुलको ७५ प्रतिशत मत ल्याएर मेयर जित्छु । यस अघिका मेयरहरु के(के कुरामा कहाँ–कहाँ चुके जस्तो लाग्छ ? यसअघिका सबै जनप्रतिनिधीहरु हरेक कुरामा चुकेका छन् ।

मलंगवाको पहिचान गुमेको छ, साख गुमेको छ । मुलुक संघीय संचरनामा गएपछि मलंगवामा राम्रो बजेट आयो ग्रिन सिटी, स्मार्ट सिटीको अवधारणा आयो मलंगवाका जनताहरु यो सुनेर निकै उत्साहित थिए । स्थानीय सरकार भएपछि अब केही हुन्छ भन्ने आशा जागेको थियो उहाँहरुको मनमा । तर, नतिजा त्यस्तो आएन । उहाँहरुको आशाप्रति कुठाराघात भयो ।

नगर व्यवस्थित र समृद्ध हुनुपर्नेमा झन् आफ्नो भएको साख, पहिचान गुमाउँदै गयो । झनै अस्तव्यस्त बन्यो । पहिलाको जनप्रतिनिधीले आफूले गर्छु भनेको बाट २ प्रतिशत काम पनि गर्नु भएन । सहजै गर्न सकिने कुरा पनि उहाँले गर्नु भएन । थाहा छैन, उहाँ के के कुरामा अल्झिनु भयो ? व्यक्तिगत रुपमा म उहाँलाई यो भन्दा बढी केही भन्दिनँ । मलंगवाबासीहरु एकदमै दुःखी छन् । म यो नगरको छोरो हुँ । पहिल्यै देखि यस ठाउँका लागि केही गर्ने इच्छा छ । अब ठीक समय आएको छ । दृढ अठोट र संकल्पका साथ केही गर्छु भनेर आएको छु । सबैको साथ र सहयोग पाए गर्ने पनि छु । मेयर प्रत्यासी नागेन्द्र प्रसाद यादवले प्रतिबद्धता व्यतm गर्नु भयो ।



प्रतिक्रिया दिनुहोस्