काठमाडौं, २६ बैशाख । नेत्रविक्रम चन्द विप्वलको नेतृत्वको पार्टीबाट विद्रोह गरेर जन्मेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
राष्ट्रिय नाचघर जमलमा भएको कार्यक्रममा गत बैशाख २१ गतेदेखि २३ गतेसम्म सम्पन्न भएको पार्टीको विशेष भेलाले श्रमजीवि जनताको अग्रदस्ताको नाम नेपाल कम्युनिष्ट पार्टी (बहुमत) राखेको जानकारी दिइएको हो । पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनबाद–माओवादी हुने जनाइएको छ ।
भेलाले आयोजक समितिका सदस्य सु्दर्शनले राखेको ८१ सदस्यीय नवौं महाधिवेशन आयोजक समितिले प्रस्ताव एकमतले पारित गरेको छ । साथै बैठकले कञ्चनलाई संयोजक समेत तोकेको छ ।
पार्टीले सरकारसँग यस अघि गरेका ३ बुंदे सहमतिअनुसार बन्दी जीवन बिताइरहेका सम्पुर्ण राजबन्दीहरुको बिनासर्त शीघ्र रिहाइ र झुट्टा मुद्दाहरुको खारेज गर्न जोडदार माग गरेको छ। साथै पार्टीले आमजनतालाई संसदीय व्यवस्थाको भ्रममा नपर्न पनि विशेष आह्वान गरेको छ।
पार्टीले जनताबाट लिएर जनतालाई दिने, तथ्यलाई सत्यको खोजी गर्ने अनुसन्धान नगरी नबोल्ने, जनतासँग माछा र पानीको सम्बन्ध कायम गर्ने, माओवादी नीतिमा पार्टी प्रतिवद्ध रहेको स्पष्ट पारेको छ ।
Photo : Mukunda Kalikote/Reporternepal.com