काठमाडौं, २६ बैशाख । नेत्रविक्रम चन्द ‘विप्वल’को नेतृत्वको नेकपाबाट विद्रोह गरेर धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वलीले नेपाल कम्युनिष्ट पार्टी (बहुमत) स्थापना गरेका छन् ।
आज सोमबार राष्ट्रिय नाचघर, जमलमा आयोजित कार्यक्रममा गत बैशाख २१ गतेदेखि २३ गतेसम्म सम्पन्न भएको पार्टीको विशेष भेलाले नेपाल कम्युनिष्ट पार्टी (बहुमत)स्थापना गरिएको जानकारी दिइएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै असन्तृष्ट समुहका नेता धर्मेन्द्र बास्तोलाले विप्लवमा उग्रवामपन्थी खोलभित्र दक्षीणपन्थी अवसरवाद देखेर आफुहरु बाहिरिएको बताए । उनले भने,‘उहाँसँग बसेर छलफल गरेर राजनीति गर्नु र समय बिताउनु भनेको समयलाई पछाडी धकेल्नु हो । विप्लवमा उग्रवामपन्थी खोलभित्र दक्ष्ीाण पन्थी अवसरवाद देख्यौ, कुराचाँही चर्को चर्को गर्ने, ठुला ठुला प्रकारका संघर्षका कुरा गर्ने र कुराले जनतालाई कहाँ लैजाने तालमेल नुहने ।’
चुनावले पार्टीलाई संसदीय घेराभित्र राख्ने र पार्टीको संसदीय व्यवस्थालाई बदलेर वैज्ञानिक क्रान्ति गर्ने नैतिक अधिकार समाप्त हुने बास्तोलाको भनाइ थियो । ‘चुनावको प्रश्न रणनीतिक प्रश्न भएको कारणले चुनावमा भाग लिनु वा भाग लिनको लागि केन्द्रीय समितिको बैठकबाट निर्णय समेत गर्नुले पार्टीलाई संसदीय घेराभित्र रहन्छ । र, हामीले संसदीय व्यवस्थालाई बदलेर वैज्ञानिक क्रान्ति गर्ने नैतिक अधिकार समाप्त हुन्छ ।’–उनले भने, ‘हामीले भित्र पसेर गरिने संघर्षबाट संसदीय व्यवस्था बनाउँ न त सक्छ तर त्यसलाई अन्त्य गर्न सक्दैन भन्ने हाम्रो मान्यता रह्यो । र बहस गर्यौ ।’
सोही बहस विकास हुँदै गएर दुई लाइन संघर्षमा विकास हुन पुगेको उनले सुनाए । चुनाव परस्त संसदवाद प्रष्ट लाइन र अर्को क्रान्तिकारी लाइनको रुपमा विकास भएको उनले बताए । यसले विगतका कामहरुलाई पनि उजागर गर्न पुगेको समेत दाबी गरे ।
उनले पछिल्लो समयमा विप्लवमा सैद्धान्तिक हिसाबले श्वासतवादी, राजनीतिक हिसाबले अस्पष्टता, जुझारु अर्थवाद प्रवृत्तिहे राजनीति प्रक्रियामा देखिन थालेको सुनाए । उनले भने,‘अत्यन्तै सकिर्ण प्रकारको रोमाण्टिक, एउटा व्यक्ति बुर्जुवा रोमाण्टिक सिजम उहाँको देखा पर्यो ।’