काठमाडौं, २७ वैशाख । पर्सामा चुनावी माहोल तात्तिदै गर्दा १४ पालिकामा कस्ले चुनाव जित्ला भन्ने चासो बढेको छ । वीरगञ्ज महानगरपालिकासहित १४ पालिकामा गठबन्धनभित्र र बाहिरका दलबीच कडा प्रतिष्पर्धा चलेको हो ।
२०७४ को स्थानीय चुनावमा जनता समाजवादी पार्टीले वीरगञ्जसहित पर्साका ४ पालिकामा प्रमुख र ६ मा उपप्रमुख तथा उपाध्यक्ष जितेको थियो । वीरगञ्ज महानगरपालिकामा विजय सरावगी जितेका थिए । उनी अहिले एमालेमा छन् । त्यतिबेलाका उनका निकट प्रतिद्वन्द्वी राजेशमान सिंह राजपाका उम्मेदवार छन् ।
गठबन्धनबाट राजेशमान सिंह र एमालेबाट सरावगीबीच कडा प्रतिष्पर्धा हुनसक्छ । राप्रपाका गिरिश गिरी पनि कडा प्रतिद्वन्द्वी देखिएका छन् । पत्रकारिताबाट राजनीतिमा लागेका गिरिशका पिता गोपाल गिरी पूर्व मेयर हुन् । उनको सशस्त्र द्वन्द्वकालमा माओवादीले हत्या गरेका थिए ।
पर्सामा २०७४ को चुनावमा एमालेले २, माओवादीले ३ र नेपाली जनता दलले २ पालिका जितेका थिए । यसपटक सबैभन्दा चुनोती माओवादी र एमालेलाई नै छ । एमाले फुटेको छ । उसले विगतको साख जोगाउने चुनौती बढेको छ ।