Logo

शिक्षामन्त्री देवेन्द्र पौडेललाई ऋषि धमलाको प्रश्नः “भरतपुरमा रेणु दाहालले हारे देशको राजनीति कता जान्छ, आज भन्दिनूस् न !”



काठमाडौं, ३१ वैशाख । शिक्षा मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले भरतपुर महानगरपालिकामा रेणु दाहालले हार्ने कल्पना पनि नगरेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “राजनीतिमा सक्रिय रहेको, मेयर भएर धेरै काम गरेको र गठबन्धन पनि भएकाले रेणु दाहाल पराजित हुने मैले कल्पना गरेको छैन । इमानदारीपूर्वक गठबन्धनको पालना भएमा रेणुले नजित्ने प्रश्नै छैन । जहाँसम्म प्रचण्डले भन्नुभएको कुरा हो, त्यो उहाँले जनतालाई धम्की दिनुभएको होइन, गठबन्धन दलका कार्यकर्तालाई अपिल गर्नुभएको हो । चुनाव हार्नुलाई दुर्घटना भनिँदैन । गठबन्धन रेणु दाहाल वा एकाध ठाउँको चुनाव परिणामसँग मात्र सम्बन्धित छैन । लोकतन्त्र, संधिवान, बजेट, नीति तथा कार्यक्रमसँग सम्बन्धित छ ।”

पौडेलले गठबन्धन लथालिंग भएको भन्दा पनि गठबन्धनका कारण नेकपा एमालेलाई सकस भएको पनि बताए । उनले थपे, “गठबन्धनको निश्चित उद्देश्य र लक्ष्य छ । यसलाई नाफाघाटा भन्दा पनि सहमतिको संस्कार बसाल्ने खुड्किलोको रुपमा लिनुपर्छ । नेकपा एमालेले गठबन्धन तोड्न चाहे पनि यो अघि बढ्छ । केही ठाउँमा गठबन्धनको मर्म नबुझे पनि त्यसले केही फरक पर्दैन । आआफ्नो प्रभाव भएको क्षेत्रमा सबै दलले जित्छन् ।”

मतदाताको ठूलो हिस्सा देशबाहिर रहेकाले पनि मत कम खसेको उनको आकलन छ । उनले भने, “झन्डै ४४ लाख नेपाली विदेशमा छन् । त्यसैले मतदानको प्रतिशत घटेको हो । तर स्थानीय तहको निर्वाचनमा जनसमुदायको उत्साह र सहभागिता उल्लेख्य छ ।”



प्रतिक्रिया दिनुहोस्