काठमाडौं, १ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि (सोमबार) ६ घण्टाको लागि नेपाल आउँदैछन् । त्यसको लागि प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणासहित लुम्बिनी पुगेका हुन् । उनीसँगै गृहमन्त्री बालकृष्ण खाँण, पर्यटनमन्त्री प्रेमबहादुर आले र उर्जामन्त्री पम्फा भुषाल लुम्बिनी पुगेका छन् । प्रधानमन्त्री देउवालाई लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले स्वागत गरेका हुन् ।
भारतीय प्रधानमन्त्रीको रुपमा पाँचौंपटक नेपाल आउन लागेका मोदी सोमबार सिधै लुम्बिनी आएर त्यहींबाट सोही दिन स्वदेश फर्कने छन् । प्रधानमन्त्री देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।
तय भएको कार्यक्रम अनुसार मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा सोमबार विहान एघार बजेतिर लुम्बिनी आउने छन् । हेलिकप्टरबाट झरेपछि उनी सिधै मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन् । साढे ११ बजे मोदी त्यहीं आयोजना गरिने भूमी पुजा कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पुजा र शिलान्यासको काम सकेपछि उनी लुम्बिनीमा रहेको पवन इन्टरनेसनल होटलमा जानेछन् । केही समय उनले त्यही होटलमा बिताउने छन् ।
होटलमा नै परराष्ट्रमन्त्री डा। नारायण खड्काले मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि साढे १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सकिएपछि नेपाल–भारत द्विपक्षीय उच्चस्तरीय कूटनीतिक बैठक त्यहीं सुरु हुनेछ ।
बैठक सकिएपछि प्रधानमन्त्री देउवाले भारतीय समकक्षि मोदीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् । मोदी दिवा भोजमा सहभागी हुनेछन् । त्यसपछि मोदीले त्यहाँ केही उच्चस्तरीय व्यत्तिहरुसँग भेटवार्ता गर्नेछन् ।
सोमबार साढे तीन बजे उनले बुद्ध जयन्तीको अवसरमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी बेलुकी ५ बजे भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनीबाट स्वदेश फर्कने जनाइएको छ ।