काठमाडौं, ४ जेठ । स्थानीय तहको निर्वाचनपछिको अवस्थाबारे समिक्षा गर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल भेटवार्तामा जुटेका छन् ।
प्रधानमन्त्री देउवासँगको छलफलको लागि दाहाल भर्खरै बालुवाटार प्रवेश गरेका छन् । निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तल्लो तहसम्मै तालमेल भएको थियो । तर, कतिपय ठाउँमा गठबन्धन दलले एक आपसलाई धोका दिएको गुनासो पनि गठबन्धनमा आवद्ध दलका नेताहरुले गर्न थालेका छन् ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले त सार्वजनिक रुपमै गठबन्धन राम्रोसँग कार्यान्वयन नभएको गुनासो पोखेका थिए ।
बाबुरामले त कांग्रेस र माओवादी केन्द्रले मात्रै चुनावी लाभ लिएको आरोप लगाएका थिए । माधव नेपालले पनि अब गठबन्धनमा चुनावको परीणामबारे गम्भीर समिक्षा हुने बताईसकेका छन् । अहिलेको मतपरीणामबाट कांग्रेस र माओवादी केन्द्र भने खुशी नै रहेको चर्चा चलिरहेको छ । यही सन्दर्भमा अहिले प्रधानमन्त्री देउवा र दाहालबीच छलफल भैरहेको बुझिएको छ ।