काठमाडौं, १४ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेशमा जनसंख्या बढेको भन्दै निर्वाचन क्षेत्र पुननिर्धारण गर्न माग गरेका छन् । उनले संसदमा सरकारको नीति तथा कार्यक्रममा बोल्दै निर्वाचन क्षेत्र जनसंख्याको आधारमा निर्धारण गर्ने विगतको सम्झौता लागू गर्नुपर्ने माग गरेका हुन् ।
‘विगतमा ८ र २२ बुँदे सम्झौता भएको थियो । जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने रहेको थियो,’ यादवले भने, ‘ती सम्झौताको आधारमा निर्वाचन क्षेत्र पुर्ननिर्धारण गरिनुपर्छ ।’ निर्वाचन क्षेत्र तय गर्दा ४६ प्रतिशत मधेशको जनसंख्या रहेकोमा अहिले ५३ प्रतिशत पुगेको भन्दै निर्वाचन क्षेत्र बढाइनुपर्ने बताए ।
यादवले समानुपातिक समावेशिता लागू गर्नुपर्नेमा जोड दिए । उनले हुलाकी सडकलाई बेवास्ता गरिएको भन्दै आलोचना गरे ।