काठमाडौं, १४ जेठ । महाराजगन्ज चिकित्सा क्याम्पसमा गत शुक्रबार राति (जेठ १३ गते) अनेरास्ववियु र नेविसंघबीच झडप भएको छ ।
२ दिन अघि नवनिर्मित पुरुष छात्रावासको भवन अनेरास्ववियु निकट विद्यार्थीहरुले अतिक्रमण गरेपछि विवाद सुरु भएको नेविसंघ विद्यार्थी नेता डा.मिर्जा सिद्दिकीले बताएका छन् ।
‘छात्रावास र क्याम्पस प्रशासनको नियम उल्लंघन गरी गैरकानुनी ढंगले छात्रावास भवन अतिक्रमण गरी छात्रावास केवल अनेरास्ववियुको हो भन्दै नेविसंघ निकट केही विद्यार्थीले प्रवेश गरेमा अपहरण गर्ने, झ्यान मार्दिने भन्दै अनेरास्ववियुका अध्यक्ष डा.विनय पञ्ज्ञानी, एमविविएस अन्तिम वर्ष अध्ययनरत असीम घिमिरे र एमविविएस तेस्रो वर्ष अध्ययनरत पुष्पराज भामले सम्पूर्णलाई धम्की दिँदै आइरहेका थिए।’–डा.मिर्जाले भने ।
नेविसंघका विद्यार्थीले आफु पनि बस्न पाउनु पर्ने भन्दै छात्रावास भवन प्रवेश गर्न खोज्दा अनेरास्ववियु निकट विद्यार्थी वीरेन्द्र कुँवर र पंकज गुप्ताले गालीगलौज गरी हातपात गरेको नेविसंघ निकट विद्यार्थीले जनाएका छन् । सागर खड्काले पनि हातपात गर्न थालेपछि नेविसंघ निकट विद्यार्थीहरू पनि प्रतिकारमा उत्रिदा धकेला धकेल भएको नेविसंघका विद्यार्थीहरुको भनाई छ । ‘वीरेन्द्र कुँवरले टाउको फुटाउने र सम्पूर्ण नेविसंघको घाँटी रेट्ने धम्की दिँदै झ्याल खोलेर बाहिर गई सिसाको झ्यालमा इटा प्रहार गरेका थिए र उक्त क्रममा नेविसंघ निकट विद्यार्थी डा सुलभ आचार्य, सूर्यप्रकाश जोशी र नेविसंघका सचिव सुमित बोहरालाई सिसा लागेर घाइते भएका छन्।’–डा.मिर्जाले बताए ।
उनले अनेरास्ववियुको आक्रमणबाट एक जना विद्यार्थी अचेत अवस्थामा समेत गएको भन्दै वीरेन्द्र कुँवरले मदिरा सेवन गरेर यो क्रियाकलाप गरेको समेत आरोप लगाए । यी सम्पूर्ण क्रियाकलापमा आफू भन्दा जूनियरलाई परिचालन र निर्देशन दिई झडप गर्न उत्प्रेरित समेत गर्ने अनेरास्ववियु निकट सिनियरहरु डा.विनय पञ्ज्ञानि, डा. विवेक पौडेल, डा. सौरभ सुवेदी, डा. अनुज पाण्डेय, अन्तिम वर्षका सुरज गुप्ता, विकास बस्याल, र असीम घिमिरे समेत झडपमा संलग्न रहेको डा. मिर्जाले बताए ।
उनले भने,‘सम्पूर्णलाई काट्दिने भन्दै खुकुरी बोकेर अनेरास्ववियु निकट जनस्वास्थ्य अध्ययनरत राजु चन्द ठकुरीले विद्यार्थीलाई लखेटेका थिए।’
घटनालाई अनेरास्ववियु निकट विद्यार्थीहरुले स्वयं सिसामा इटा प्रहार गर्दा लागेको चोटलाई केही नेविसंघको विद्यार्थीहरुले कुटपिट गरेको भनी भ्रामक समाचार सम्प्रेषण गरी चरित्रहत्या गर्ने प्रयास गरेको भन्दै उनले आपत्ति जनाए ।
यो घटना पश्चात सम्पूर्ण नेविसंघ निकट विद्यार्थीहरू त्रासमा रहेको र कसैको ज्यानमा तलमाथि भएमा अनेरास्ववियुले सम्पूर्ण जिम्मेवारी लिनु पर्ने उनको भनाई छ । अहिले पनि अनेरास्ववियुका टोले गुण्डाहरुले ज्यान मार्ने धम्कि दिइरहेको पीडित नेविसंघ निकट विद्यार्थीहरुले जनाएका छन्।