काठमाडौं, १५ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू देश र जनताको लागि जहिल्यैपनि चट्टानी अडानसहित उभिने नेता भएको बताएका छन् । एमाले फुटाएर तपाईँले ठूलो अपराध गर्नुभयो ? भन्ने आरोप लागेको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा यस्तो जवाफ दिएका छन् ।
उनले आफूमाथि कुनै आरोप नलागेको बरु देश र जनतको हितमा विद्रोह गरेको भनेर जनताले प्रशंसा गरेको सुनाए । प्राइम टिभीको पाँचौं वार्षिकोत्सवको अवसरमा आज (आइतबार) आयोजित विशेष कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले आफूलाई स्वाभिमानी नेताको रुपमा प्रस्तुत गरे । उनले गलत गर्नेहरुसँग आफू कहिल्यैपनि नझुक्ने सुनाए । उनले प्रचण्डलाई कसैले प्रधानमन्त्री बन्न गरेको प्रस्तावप्रति संकेत गर्दै भ्रम नपाल्न आग्रह गरे ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफूले देशको मर्यादा जहिल्यैपनि उँचो बनाउने काम गरेको दाबी गरे । मुलुकलाई सामाजिक, आर्थिक र सांस्कृति रुपमा सही दिशमा अघि बढाउनको लागि आफू राजनीतिक मैदानमा नयाँ ढंगले आएको पनि अध्यक्ष नेपालको दाबी छ । उनले आफू कुनैपनि तानाशाही प्रवृत्तिविरुद्ध नझुक्ने बताए ।
उनले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै सत्ताको आडमा दम्भ देखाउनेहरु धेरै नटिक्ने दाबी गरे । उनले केही पहिले नेपालको राजनीतिक आकाशमा गणतन्त्रमाथि कालो बादल मडारिएको थियो भन्ने टिप्पणी गरे । अहिले मुलुक ठीक बाटोमा अघि बढिरहेको उनको भनाई छ ।
उनले गणतन्त्रपछिको यो १५ वर्षको अवधिको समिक्षा गरिनुपर्नेमा जोड दिए । उनले यो बीचमा भएका राम्रा काममा गौरव गर्नुपर्ने र कमिकमजोरी भएर त्यसलाई सच्याउनुपर्ने पनि प्रण गरे ।
उनले भने-“हामीले अब गल्ती नगर्ने प्रण गर्नुपर्छ । आजको बजेटले नयाँ आशा जगाएको छ । यसले सबै जना प्रफुल्लित भएको पाएको छु । यो खुशीको कुरा हो । आम रुपमा हेर्दा यो बजेट ठीक बाटोमा अघि बढेको छ ।”
Photo By: Mukunda Kalikote/ReportersNepal