Logo

आमा–बुवासहित ६ जना आफन्तसँग मुक्तिनाथ जाँदै थिए राजन गोले



काठमाडौं, १६ जेठ । आइतबार बिहान ९ : ५५ बजे पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको थासाङ गाउँपालिकाको सानोशेरेमा फेला परेको छ ।

विमान दुर्घटनामा परेर धनुषा मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका सात जनाको मृत्यु भएको छ । विमान दुर्घटनामा परी ज्यान गुमाएका राजनकुमार गोलेले आफ्नो परिवारलाई मुक्तिनाथ दर्शनको लागि लैजाने योजना अनुसार यात्रा तय गरेका थिए ।

उनले आमा–बुवा, काका–काकी, मामा–माइजुलाई मुक्तिनाथ दर्शनका लागि लैजादै जहाज चढेका थिए । राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ उनीसँगै मुक्तिनाथ दर्शनको लागि तारा एयरमा उडेका थिए ।

उनीहरु सबैको मृत्यु भएको छ। गाउँमा उनीहरुको घर नजिकै–नजिकै छ । उनीहरु शुक्रबार मात्र मुक्तिनाथ जानको लागि काठमाडौं आएका थिए । विमान दुर्घटनाको खबरले गाउँनै शोकमा डुबेको छ । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका राजन गोलेका श्रीमती र २ छोराछोरी छन् । Photo : Manahari Shrestha 



प्रतिक्रिया दिनुहोस्