Logo

राजावादीले यसरी बढाए शक्ति



काठमाडौं, १७ जेठ । राजसंस्थाको पक्षमा रहेको मुख्य दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र एउटा हो । यसपटकको स्थानीय चुनावमा राप्रपाले ४ पालिका मात्र जितेको छ । तर, मतको हिसाबले उसको शक्ति बढेको छ ।

तर, राप्रपामा मात्र नभई राजावादीको मत अन्यत्र पनि गएको छ । काठमाडौं महानगरपालिकाको चुनावमा राजावादीको मत स्वतन्त्रका बालेन साहलाई उल्लेख्य रुपमा गएको छ । राप्रपाका मदन दास श्रेष्ठले ५ हजार ७७० मत मात्र ल्याए । जबकि राप्रपाकी उपमेयरकी उम्मेदवारले उनको भन्दा दोब्बर बढी मत ल्याइन् । अर्कोतर्फ, २०७४ को चुनावमा राप्रपाका उपमेयरका उम्मेदवार राजाराम श्रेष्ठले झण्डै ४० हजार मत पाएका थिए ।
राजावादीको उल्लेख्य मत बालेनलाई गयो । मदनदासले यसकारण पनि राजावादीको मत निकै कम पाए ।

धनगढीका गोपाल हमाल पनि राजावादीका रुपमा चिनिन्छन् । उनले भारी मतान्तरले जिते । स्वतन्त्र उम्मेदवारका रुपमा हमालको जीतलाई अर्थपूर्ण मानिन्छ ।

धरानका हर्कराज राई पनि स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भए । उनले पनि राष्ट्रवादको मुद्दालाई उत्तिकै उठाएका छन् । राई जातीय मुद्दा र संघीयताका विरोधी देखिएका छन् । उनले हिन्दूराष्ट्र र राजसंस्थाबारे मुख खोलेका छैनन् । राईको घाँटीमा प्रायः रुद्राक्षको माला देख्न सकिन्छ । धेरैले राईलाई पनि राजावादीको साथ मिलेको चर्चा चलाउन थालेका छन् ।

राजावादीले यसपटकको चुनावमा स्वतन्त्र उम्मेदवारलाई जिताएर शक्ति प्रदर्शन गरेको विश्लेषण हुन थालेको छ । वरिष्ठ पत्रकार किशोर नेपालले यो विषय सिधै बोलिसकेका छन् । बालेन साहले राजावादीको मत पाएको भनिसकेका छन् । रणनीतिक तरिकाले राजावादी बलियो हुन खोज्दैछन् । उनीहरु लोकप्रीय व्यक्तिहरुलाई साथमा लिन खोजिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्