काठमाडौं, २० जेठ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले पार्टीमा अन्तर्घातका कारण भोटमा पहिलो भए पनि सिटमा पहिलो हुन नपाएको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, “नेकपा एमालेमा अन्तर्घात मूल रुपमा होइन, सहायक रुपमा भएका छन् । त्यो रोक्न सकेको भए एमाले भोटमा मात्र होइन, सिटमा पनि पहिलो पार्टी हुन्थ्यो । तर देशका मुख्य ५ दल एकातिर हुँदा पनि एक्लै लडेर एमालेले जुन सफलता पाएको छ, त्यो मामुली छैन । एमालेलाई जनताले माया गरेका छन्, एक खालको जनहर छ । एमालेले नौ दलीय गठबन्धन बनाएको भन्नु फाल्तू कुरा हो । स्थानीय तहमा भएको तालमेल फाट्टफुट्टे हो ।”
नेता रायमाझीले पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन असम्भव नभएको पनि बताए । उनले भने, “प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्रीको अफर कहाँबाट आइरहेको छ, मलाई थाहा छैन । उहाँहरुलाई प्रधानमन्त्री बनाउने पार्टीको पोलिसी होइन । राजनीतिमा प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बनाउन असम्भव छैन तर तत्काल सम्भव होला जस्तो लाग्दैन ।”
उनले आगामी निर्वाचनमा नेकपा एमाले एक्लै जाने पनि बताए । उनले भने, “गठबन्धन लोभीपापीको झुन्ड भएकाले जुनसुकै बेला भत्किन सक्छ । त्यो आफ्नो अस्तित्व रक्षाका लागि बनाइएको हो । गठबन्धन भत्केको खण्डमा अन्य पार्टीसँग सहकार्य हुन पनि सक्छ ।”