काठमाडौ, जेठ २० । यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा असार महिनाभित्र इम्बोस्ड नम्बरप्लेट नराखे कारबाही गर्ने चेतावनी दिएको छ ।
बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट राख्न विभागले शुक्रबार सूचना जारी गरेको छ ।
बागमती र गण्डकीका यातायात कार्यालयहरूबाट इम्बोस्ड नम्बरप्लेट जडानका लागि सबै पूर्वाधार तयार भएको विभागले जनाएको छ ।
इम्बोस्ड नम्बरप्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ ।
मोटरसाइकललगायत साना–ठूला सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न पनि सवारी साधन धनीहरूलाई विभागले आग्रह गरेको छ ।
विभागले बागमती प्रदेशको एकान्तकुना ललितपुर, काठमाडौंको गर्जुधारा र गण्डकीका पोखराबाट इम्बोस्ड नम्बरप्लेज जडान गर्न सकिने जनाएको छ ।