काठमाडौं, जेठ २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वातावरण दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छन् ।
राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको भनिएको छ ।
वातावरण अनुकूलनका कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुका साथै शतप्रतिशत हरित वा स्वच्छ ऊर्जाको प्रयोग, विद्युतीय सरसामानको बहुउपयोग तथा इको यातायातको प्रवद्र्धनमा विशेष जोड दिन आवश्यक रहेको सन्देशमा भनिएको छ ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा आज संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको बताएका छन् ।
उनले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपद्बाट जनधनको क्षतिजस्ता गम्भीर र नकारात्मक असर एवं प्रभाव बढेको बताएका छन् ।
यसले समग्र विश्व नै ठूलो वातावरणीय सङ्कटबाट गुज्रिरहेको बताउँदै प्रधानमन्त्री देउवाले यसको असरबाट नेपालजस्ता पर्वतीय, अल्पविकसित तथा विकासशील देश र गरिब तथा सिमान्तकृत समुदाय बढीमात्रामा प्रभावित भइरहेको संदेशमा उल्लेख गरेका छन् ।