काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ अनुहार पठाउने निर्णय गरेपछि नेपाली राजनीति तरंगित बनेको छ ।
अध्यक्ष नेपालले पार्टीको सचिवालय बैठक राखेर सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेसँगै पार्टीभित्र विवाद चुलिएको छ । खासगरी सरकारमा रहेका मन्त्रीहरुले तत्काल आफूहरु सरकारबाट फिर्ता नहुने चेतावनी नेतृत्वसामू दिएका छन् ।
माधव नेपालको यो निर्णयमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि खुशी छैनन् । उनले अहिले भर्खरै बजेट ल्याईएको र यसबारे उठेका कतिपय प्रश्नको जवाफ दिन नपाउँदै मन्त्रीहरु हटाउनु गलत हुनेतर्फ उनले माधवव नेपाललाई सम्झाएको स्रोतको दाबी छ।
माधव नेपालको पछिल्लो निर्णयको प्रभाव गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालमा पनि देखिने भएको छ । अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवकहाँ मन्त्री बनाउनुपर्यो भन्दै सांसदहरुको भीड लाग्न थालेको छ ।
प्रचण्डले त अहिले यो कस्तो टाउको दुखाई आईलाग्यो भन्न थालेका छन् । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गएपछि मन्त्रीहरु हेरफेर गर्नु गलत हुने भन्दै कतिपयले आलोचना गरिरहेका छन् । उता, जसपामा पनि आधा दर्जन सांसद अध्यक्ष यादवको निवास पुगेर मन्त्री बनाउन दबाब दिन थालेका छन् ।