Logo

नेपाल–भारत सम्बन्धमा ‘आइसब्रेक’ भएको छः राजदूत डा. शंकर शर्मा (भिडिओसहित)



काठमाडौं, २५ जेठ । मित्रराष्ट्र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले नेपाल–भारत सम्बन्धमा ‘आइसब्रेक’ भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै राजदूत डा. शर्माले भने,”नेपाल–भारतबीचको सम्बन्धमा निकै राम्रो प्रगति भएको छ । म यहाँ आउने बेला प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भयो । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नौ वर्षे कार्यकालमा पाँच पटक नेपाल आउनुभयो । रेलवे उद्घाटन भयो । ऊर्जामा सहकार्य बढेको छ । शनिबारदेखि १७७ मेगावाट बिजुली भारत निर्यात हुन थालेको छ । बिस्तारै बढेर साढे ३ सय मेगावाटसम्म पुग्छ । रक्सौल–काठमाडौं रेलवेजको डीपीआर बन्दैछ । इन्टिग्रेटेड चेक पोस्ट, अमलेखगन्जका साथै झापा र चितवनसम्म पेट्रोलियमको पाइपलाइनलगायत कनेक्टिभिटीका धेरै प्रोजेक्ट छन् । दुई देशबीचको सम्बन्ध आइसब्रेकतिर गएको छ ।”

भारतीय प्रधानमन्त्री मोदीको मोदी ‘नेबरहुड फस्ट पोलिसी’ बाट नेपालले लाभ लिनसक्ने उनले औंल्याए । राजदूत डा. शर्माले भने-“हाम्रो प्रधानमन्त्री र मोदीबीच कनेक्टिभिटी, व्यापार, आवतजाजत, पर्यटन बढ्न सकोस् भन्ने कुराकानी भएका छन् । जनता–जनताबीचको सम्बन्धलाई अगाडि बढाउन बुद्धिस्ट सर्किट, रामायण सर्किट पूरा हुँदैछन् भने जैन र्सिर्कट, शिव सर्किटको कुरा पनि आएका छन् । यी कुरा निकै सकारात्मक छन् ।”

छिमेकी भारतबाट नेपालले ऊर्जा क्षेत्रमा धेरै काम गर्न सक्ने उनको विश्लेषण छ । डा. शर्माले थपे, “भारतमा ऊर्जाको धेरै समस्या छ । भारतले आफ्नो सिमाना जोडिएका देशसँग ट्रेड इनर्जी एग्रिमेन्ट गरेको छ । हामीले पर्यटन र ऊर्जालाई जोड दिएका छन् । भारतको ५१ प्रतिशत र नेपालको ४९ प्रतिशत लगानीमा जलविद्युत् परियोजना सुरु हुन्छन् । त्यसबापत नेपालले २१ प्रतिशत विद्युत् निःशुल्क पाउनेछ । हामीले ३ हजार मेगावाटका प्रोजेक्ट आफैँले सुरु गरेका हौं । त्यो बिजुली स्वदेशमा खपत हुन नसके खेर जान्छ । भारतले नलिएको खण्डमा भविष्यमा श्रीलंका र म्यानमारसम्म जान सक्ने वातावरण बन्दैछ ।”

सीमा लगायतका विवाद संवादबाटै समाधान गर्नुपर्ने राजदूत डा.शर्माले बताए । उनले भने, “नेपालको संसद्ले चुच्चे नक्सा पास गरेपछि सीमा विवाद अलिकति विवादास्पद बनाइएको छ । भारतले सचिवस्तरीय एक्जिस्टिङ मेकानिजमलाई सक्रिय गरेर संवादको माध्यमबाट समाधान गर्नुपर्छ, यसलाई राजनीतिकरण नगरौं भनेको छ । यसलाई दुवै देशका प्राविधिक संयन्त्रले बसेर हेर्ने हो । ईपीजी प्रतिवेदनबाट पनि हामीले लाभ लिन सक्छौं । त्यत्रो मिहिनेतबाट बनाएको डकुमेन्टमा छलफल त गर्नुपर्यो भन्ने नेपालको चाहना छ ।”

नेपालले श्रीलंकाको नियति भोग्नु नपरोस् भन्नेतर्फ भारत सरकारको ध्यान गएको पनि राजदूत डा. शर्माको भनाइ छ । उनले भने, “नेपाल र भारतबीच धर्म, सभ्यता, संस्कृति आदिको सम्बन्ध छ । कहिलेकाहीं यसमा तलमाथि पनि हुन्छ । तर भारतले नेबरहुड फस्ट पोलिसी लिएकाले त्यो लाभ नेपालले पाउँछ । जस्तो भारतमा नेपालीलाई पढ्ने सुविधा छ, घुम्ने सुविधा छ । भिसा चाहिँदैन । भारतले श्रीलंकालाई मल, पेट्रोल, पैसा दिने काम भएको छ । माल्दिभ्सलाई पनि सहयोग गरेको छ ।”

भारतबाट नेपाललाई कृषि मल त आएन नि भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा डा. शर्माले भने, “हो, मनसुन सुरु भइसक्यो । मल अर्जेन्ट भइसक्यो । भारतका फर्टिलाइजर मन्त्रीसँग यसबारे काम भइसकेको छ । आठदस दिनभित्र नेपालले मल पाउँछ । नेपालले कति छिटो मल लान सक्छ, किसानले समयमै मल पाउँछन् । तर यसको छोटो र छिटो प्रक्रिया अपनाउनुपर्छ । अर्को वर्षदेखि यस्तो समस्या नहोला । समयमै मल लगेर स्टक राखेर किसानलाई दिने व्यवस्था गर्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्