काठमाडौं, २६ जेठ । अमरिकी सेनाको हिन्द-प्रशान्त क्षेत्र हेर्ने कमाण्डर जनरल चाल्र्स ए. फ्लिन भारतको भ्रमण पूरा गरी आज मध्यान्हमा काठमाडौं आए । उनको आगमन समय निकै गोप्य राखिएको थियो । अमेरिकी सेनाको विशेष विमानबाट आउने भनिएपनि उनी नियमित उडानबाट सवा १२ बजे आए ।
भारतमा रहँदा फ्लिनले संयुक्त युद्धअभ्यासबारे छलफल गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । अक्टोबरमा भारतको हिमाली क्षेत्रमा हुने उक्त अभ्यास ९ हजार देखि १० हजार फिटमा हुने समेत फ्लिनले सञ्चारमाध्यमलाई बताए । हवाई फौज युद्धअभ्यासमा सहभागी हुने जनाइएको छ । त्यसलाई चीनको हिमाली क्षेत्रमा बढ्दो सैन्य गतिविधिको प्रतिरक्षाको तयारीको संकेत समेत फ्लिनले गरे । उनले प्रत्यक्ष अप्रत्यक्ष चीनलाई भारतबाट चेतावनी दिनु अर्थपूर्ण छ ।
फ्लिनले युद्ध अभ्यासको महत्वमाथि निकै प्रकाश पारेका थिए । उनले दक्षिणी हिमाली क्षेत्रमा बेइजिङको दबाबमूलक व्यवहारमाथि चेतावनी समेत दिए । उक्त क्षेत्र भारत र चीनबीच विवाद भइरहेको क्षेत्र हो । गत महिनामाथि चीनले पाङगोङ शो तालमा पुल बनाउन थालेको छ । भारतले उक्त कदमको विरोध गरिरहेको छ । जनरल फ्लिनले उक्त गतिविधिलाई आँखा खोलिएको र सतर्क भएको व्याख्या गरे ।
पत्रकारहरुको प्रश्नमा उनले चीनको गतिविधिप्रति संकेत गर्दै त्यसलाई विध्वंशकारी र भ्रष्ट गतिविधि भने । उनले त्यसविरुद्ध काउन्टर दिन अमेरिका र भारत मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको समेत बताए ।
भारतमा रहँदा जनरल फ्लिनले भारतको सेनापति जनरल मनोज पाण्डे र उप सेनापति जनरल बागाभली सोमाशेखर राजुसँग कुराकानी गरेका थिए ।
चीनलाई भारतबाट चेतावनी दिएर फ्लिन नेपाल आउनुलाई अर्थपूर्ण मानिएको छ । यसअघि अमेरिकी उपसहायकमन्त्री उज्रा जीया पनि तीन दिन भारत भ्रमण गरी नेपाल आएकी थिइन् । उनले आउनेवित्तिकै सर्वप्रथम तिब्बती शरणार्थी शिविरहरु पुगेर तरंग नै ल्याइदिइन् ।-Photo Source: US Embassy