Logo

आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारीसाधन चलाउन रोक



तनहुँ, जेठ २९ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारीसाधन सञ्चालन नहुने भएका छन् । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

सो सडकखण्डबाट साना सवारीसाधन मात्र्र एकतर्फी रूपमा सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । ‘सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराउने गरिएको छ, भीर कटानको कार्य चलिरहेकाले मिलाउँदै साना सवारीलाई आवतजावत गराइएको छ’ –खड्काले भने ।

सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रबारदेखि नै भित्ता काटेर सडक फराकिलो बनाउने कार्य थालेको थियो । ठूला सवारीसाधन सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला सवारीसाधन सञ्चालन गर्न नदिइएको सडक डिभिजन कार्यालय दमौलीका डिभिजन प्रमुख इन्जिनियर लक्ष्मी केसीले बताए ।

जिल्ला प्रशासन कार्यालयले सो सडक खण्डमा शुक्रबार राति ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्मका लागि यातायात सञ्चालन पूर्ण रूपमा बन्द गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्