Logo

विभागका महानिर्देशक पौडेलको छोटो समयमै सरुवा



काठमाडौं, जेठ ३१ । राजस्व छल्नेहरूविरुद्धको कारवाहीलाई तीव्र बनाएका राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेललाई साढे आठ महिनामा नै सरुवा गरिएको छ । राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही थालिरहेका उनलाई एक्कासी सरुवा गरिएको हो ।

पौडेलको सरुवालाई चासोका रूपमा हेरिएको छ । चालू आर्थिक वर्षको साढे आठ महिनाको अवधिमा विभागले झन्डै २२ अर्ब रुपैयाँ राजस्व छलीका मुद्दा दायर गरेको थियो । सो अवधिमा विभागले राजस्व चुहावट गर्ने र विदेशी विनिमय अपचलन गर्ने २ सय ८१ जना व्यक्ति तथा फर्मका सञ्चालकविरुद्ध विभिन्न अदालतमा कुल ११५ वटा मुद्दा दायर गरेको थियो ।

सोमबार सरुवा भएपछि महानिर्देशक पौडेलले आफ्नो साढे आठ महिने प्रगति विवरण सार्वजनिक गरेका थिए । विभागका महानिर्देशक पौडेलको सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो । साढे आठ महिनाअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको महत्वपूर्ण विभागको महानिर्देशकमा नियुक्त भएका पौडेललाई सरकारले २०७८ साल १८ असोजमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकबाट राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाएर पठाएको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्