Logo

किसानको विश्वास गुमाउँदै सिक्टा सिँचाइ आयोजना



नेपालगन्ज, असार ७ । सरकारले आफ्नै बजेटमा आव २०६३/६४ देखि राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम बाँकेमा सुरु गर्‍यो। जिल्लाको अगैयास्थित राप्ती नदीमा हेडवर्कस निर्माण गरी आयोजनाको काम अगाडि बढाइएको थियो।

पहिलो गुरुयोजनाअनुसार आयोजनाको काम सम्पन्न हुँदासम्म १२ अर्ब ८० करोड रुपैयाँ मात्र खर्च हुने सरकारको अनुमान थियो। उक्त गुरुयोजनाअनुसार ४२.२५० किमि पश्चिम मूल नहरमार्फत ३३ हजार ७ सय ६६ हेक्टर क्षेत्रफललाई मात्र सिञ्चित गर्ने लक्ष्य राखिएको थियो।

संशोधित गुरुयोजनामा साढे ५३ किलोमिटर पूर्वी मूल नहर पनि समेटियो। उक्त नहरबाट राप्तीपारिको ९ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखियो। यस्तै आयोजनाका शाखा र प्रशाखा नहर निर्माण कार्य पनि थपियो। संशोधित गुरुयोजनामार्फत लागत खर्च र कामको दायरा बढाएर सरकारले आव २०७६/७७ भित्र आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने अठोट लिएको थियो तर सरकारको सो अठोट कागजमै सीमित हुन पुग्यो।

काम तोकिएको समयभित्र सम्पन्न हुन नसकेपछि दोस्रो गुरुयोजना अहिले कार्यान्वयनका क्रममा छ। दोस्रो संशोधित गुरुयोजनाअनुसार आव २०८५/८६ भित्र आयोजना सम्पन्न गर्न ३९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। सिक्टा आयोजनाको गति हेर्दा सो समयभित्र सम्पन्न हुनेमा यहाँका किसान शंका गर्छन्।

सिक्टाको पश्चिम मूल नहरबाट ५० क्युमेक्स पानी बग्ने क्षमता भए पनि यसअघि परीक्षणका क्रममा २ देखि ४ क्युमेक्स पानी छाड्दा पटकपटक भत्किएको थियो।

आयोजनाको पश्चिम मूल नहर पहिलोपटक जिल्लाको ढकेरीस्थित झिझरी खोलानजिक भत्किएको थियो। यस्तै दोस्रोपटक पनि पश्चिम मूल नहर चंगाई नालानजिक भत्कियो। आयोजनाले नहरलाई टालटुल गरे पनि सामान्य पानी छाड्दा भत्किने गरेको देखिन्छ।

राज्यको अर्बौं रुपैयाँ लगानी भइसकेको सिँचाइ नहर पटक–पटक भत्किएपछि यसले सबैलाई झस्कायो र आयोजनाभित्र अनियमितता भएको कुरा बाहिर आयो। सिक्टा आयोजनाको संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिँचाइ मन्त्रालय, विभाग, विदेशी विज्ञ टोलीलगायतले लामो समय अध्ययन तथा अनुसन्धान गरे।

लामो अनुसन्धानपछि अख्तियारले सिक्टामा साढे ८ अर्ब रुपैयाँ बराबर भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन आयोजनाका कर्मचारी, ठेकेदार, परामर्शदाता कम्पनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्‍यो। विशेष अदालतले भने करिब साढे ३ वर्षपछि सबै आरोपीलाई सफाइ दिएपछि अहिले बाँकेवासी निराश बनेका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्