काठमाडौं, असार ८ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि आयात न्यूनीकरण गर्न सरकारले लिएको नीति असफल देखिएको छ । सरकारले नेपाल राष्ट्र बैंकमार्फत आयात कर्जामा कडाइ, आपूर्ति मन्त्रालयमार्फत विलासी सामानको आयातमा रोक र गृहमार्फत २ दिन सार्वजनिक बिदा दिएर आयात घटाउने नीति लिए पनि आयात घट्नुको साटो झन् बढेको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ ।
भन्सार विभागले मंगलवार प्रकाशित गरेको तथ्यांकअनुसार गत जेठमा अघिल्लो महीनाको तुलनामा २१ अर्ब रुपैयाँले आयात बढेको छ । अत्यधिक आयातका कारण शोधनान्तर घाटा उच्च हुनुका साथै विदेशी मुद्रा सञ्चितिसमेत घट्न थालेपछि राष्ट्र बैंकले गत पुसबाट आयात निरुत्साहित गर्ने नीति अघि सारेको थियो ।
पुसको पहिलो साता शृंगार तथा विलासिताका विभिन्न २० प्रकारका सामान आयातको एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको केन्द्रीय बैंकले माघ तेस्रो साता पुनस् २७ प्रकारका सामानमा यो प्रावधान लागू गरेको थियो । यसैगरी फागुन तेस्रो साता सुन आयातको कोटा आधा घटाएर दैनिक १० किलोमा सीमित गरेको छ ।
यसैगरी सरकारले वैशाख १४ गते विलासी वर्गमा पर्ने विभिन्न १० प्रकारका सामान आयातमा रोक नै लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप कार र भ्यानसहितका सवारीसाधन, २ सय ५० सीसीमाथिका मोटरसाइकल, मदिरा, कुरकुरे, लेजलगायत खानेकुरा, चुरोट तथा सुर्तीजन्य वस्तु, तास र खेलौना आयातमा असार मसान्तसम्मका लागि रोक लगाएको छ । यसैगरी पेट्रोलियम पदार्थको खपत कम गर्ने भन्दै सरकारले जेठ महीनाभर साताको २ दिन बिदासमेत दिएको थियो ।
सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको ५ महीना बिते पनि आयात घटेको छैन । गत वैशाखमा अघिल्लो महीनाको तुलनामा आयात २० अर्बले घटेर १ खर्ब ३७ अर्बमा सीमित हुँदा जागेको आश जेठको आयातले फेरि भताभुंग पारिदिएको छ । गत वैशाखको आयात यो वर्षकै सबैभन्दा कम हो । जेठको आयात वैशाखको तुलनामा करीब २१ अर्ब रुपैयाँ बढी हो । जेठमा १ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । आर्थिक अभियान दैनिकबाट