काठमाडौं, असार १० । काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङको भूबनोट उस्तै छ । निकटतालाई हेर्ने हो भने पनि काठमाडौँसँग नुवाकोट र धादिङ जोडिएका छन् तर काभ्रे र काठमाडौँको बीचमा अर्को जिल्ला भक्तपुर पर्छ तर काभे्रको जुठेल्नो नुवाकोट र धादिङ बन्दै आएको छ । करिब ६५ किलोमिटरको दूरीमा रहेको नुवाकोटका ल्यान्डफिल साइट नुवाकोटको सिसडोल तथा धादिङ र नुवाकोटको सीमामा पर्ने बन्चरेडाँडामा काभ्रेको बनेपा नगरपालिकाको फोहोर चार वर्षदेखि विसर्जन हुँदै आएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमध्ये बनेपा नगरपालिकामा सबैभन्दा धेरै सफाइका कर्मचारी र फोहोर व्यवस्थापनका लागि आवश्यक पर्ने यातायातलगायतका साधन भए पनि फोहोर व्यवस्थापनको समस्या भने बनेपामा दैनिक बढिरहेको छ । बनेपा नगरपालिकामा दैनिक २४ मेट्रिक टन फोहोर सङ्कलन हुने गरेको छ ।
बनेपा नगरपालिकासँग आफ्नै डम्पिङ साइट नभएको पनि होइन । बनेपाको आइटी पार्क अगाडि २०५४ सालदेखि नै डम्पिङ साइट रहेकोमा २०७४ साल माघमा आगो लागेपछि फोहोर फाल्न रोकियो । यसैबीचमा बनेपा–१३ को चतुरेमा नयाँ डम्पिङ साइट पहिचान गरियो र जग्गा अधिग्रहण पनि गरियो तर आवश्यक पूर्वाधार नबनाउँदा फोहोर लैजान सकिएन ।
यहीबीचमा बनेपा–९ मा फोहोर व्यवस्थापन गर्ने गरी अत्याधुनिक मेसिन ल्याइयो तर स्थानीयका परामर्शबिना नै फोहोर व्यवस्थापन गर्न लागिएको भनी वडाध्यक्षकै नेतृत्वमा विरोध भएपछि त्यो काम पनि त्यसै थन्कियो ।
बनेपा नगरपालिकाको छिमेकी नगरपालिका धुलिखेलको आफ्नै डम्पिङ साइट छ तर धुलिखेलले बनेपालाई फोहोर फाल्न दिएन । धुलिखेलवासीले अर्को छिमेकी पनौती नगरपालिकाको पानी पिउँछन् । रोचक कुरा चाहिँ के छ भने धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू नगरपालिका सङ्घका अध्यक्ष हुनुहुन्छ तर पनि छिमेकीसँग समन्वय भएन । यी सबैको मार नुवाकोट र धादिङमा परेको हो ।
पुरानो तथा नयाँ खोजिएको डम्पिङ साइटमा स्थानीयको अवरोधका कारण फोहोर बन्चरेडाँडा र सिसडोल लानुपर्ने बाध्यता भएको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । त्यसका लागि नुवाकोटको ककनी र धादिङको धुनीबेँसी नगरपालिकासँग कुनै सम्झौता भएको छैन । बनेपाबाट फोहोर बोकेर सिसडोल र बन्चरेडाँडा लानेबारे बीचमा पर्ने सूर्यविनायक नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका, काठमाडौँ महानगरपालिका र टोखा नगरपालिकासँग पनि कुनै सहमति भएको छैन । सबै बाध्यताको अवस्था रहेको प्रमुख शाक्यको दाबी छ । गोरखापत्र दैनिकबाट