प्रचण्डले वैद्य, विप्लव, धर्मेन्द्रहरुको पनि नेतृत्व गर्नुपर्छ
काठमाडौं, १५ असार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहित ५२ नेता, कार्यकर्ता आज नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट विद्रोह गरेर माओवादी केन्द्रमा प्रवेश गरेका ओमप्रकाश पुनले माओवादीबाट विद्रोह गरेपछि मोहन वैद्य हुँदै विप्लव समुहसम्म पुग्दा उपलब्धि हासिल गर्न नसकेको बताए । विद्रोह गरेको १० वर्षपछि पुनर्विचार गर्नुपर्ने अवस्था आएपछि माओवादीमै फर्किन बाध्य भएको उनले बताए ।
विप्लव समुहमा हुँदा क्रान्तिको चाहना भए पनि यात्रामा अलमलिएको उनले बताए । उनले विप्लव समुहमा हुँदा सहादत प्राप्त गरेका, जेलमा रहेका र मुद्धा खेपिरहेकाहरुको नेता प्रचण्ड हुनुपर्ने बताए । मोहन वैद्य, विप्लव, धर्मेन्द्रलगायत सबै माओवादीको नेता प्रचण्ड बन्नुपर्ने पुनको भनाई छ । उनले अहिलेको यात्रा र विचारमाथि पुनर्विचार गरौँ भन्दा विप्लव नमानेपछि साथ दिन नसकेको उनले बताए ।
उनले भने–’विप्लव कमरेडलाई अनुरोध गरेँ । किन अगाडि बढ्न सकेनौँ । यदी राइट स्टेप लिने हो भने पनि भन्नुस, लेफ्ट स्टेप लिने हो भने पनि भन्नुस् । कहाँबाट घुम्न पर्ने हो भन्नुस भन्यौँ । हामी त ज्यान दिन तयार छौँ उहाँले बोल्डली त्यतातिर जाने आँट नगरे जस्तो, अलमलिएको जस्तो…केही विवसता होला…हामीले धेरै आरोप गर्दैनौँ । क्रान्तिका लागि मिहिनेत गर्ने मान्छेको नकरात्मक टिप्पणी गर्दैनौ । केही गर्न खोजेको जस्तो…तर मनोगत चाहनाले मात्रै हुँदैन रहेछ ।’
विप्लव समुहबाटै विद्रोह गरेर माओवादी प्रवेश गरेका शंकर खड्काले अध्यक्ष प्रचण्डले जनयुद्वलाई सफल अवतरण गरे पनि केही कुरामा असन्तुष्टी भएर विगतमा विद्रोह गरेको बताए । वैद्य हुँदै विप्लवसम्म पुग्दा लक्ष्य प्राप्ति नभएपछि प्रचण्डकै नेतृत्वमा फर्किएको बताए । अहिले पनि प्रचण्ड नै नेताको पनि नेता भएको खड्काले बताए ।
खड्काले भने–’अहिले उहाँको नेतृत्वमा नेपालको राजनीति एक ढंगले अगाडि बढिरहेको छ । उहाँ नेताहरुको पनि नेता हो कि भन्ने अनुभूति भइरहेको छ । यसो भन्दा मैले बढाइचढाई गरेको होइन । अनुभूति भएको कुरा हो । नेपालको राजनीतिको मुख्य पात्रमध्येको कमरेड प्रचण्ड नै हुनुहुन्छ ।’
अर्का नवप्रवेशी नेता ललित ठगुन्नाले आफू जनयुद्धका बेला दार्चुला जिल्लाको प्रथम पूर्णकालिन सदस्य भएको काम गरेको स्मरण गरे । पछि कांग्रेसमा गए पनि विचार र आत्मा माओवादीमै रहेको उनले बताए । अहिलेको आवश्यकताअनुसार आफ्नै घर फर्केको उनले बताए । अब सम्पूर्ण माओवादीहरु एक ठाउँमा नभै समृद्धि सम्भव नभएको उनको भनाई छ ।
‘मेरो आत्मा यहीँ थियो । विचार यहीँ थियो । त्यसैले गर्दाखेरी अब म आह्वान के पनि गर्न चाहन्छु भने ६४ को तागतमा माओवादीलाई पुर्याउनुछ । त्यसका लागि सम्पूर्ण साथीहरु रुपान्तरित भएर सच्चिएर अगाडि बढ्न जरुरी छ.’ ठगुन्नाले भने ।