काठमाडौं, १५ असार । नवगठित नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले कम्युनिष्ट पार्टीहरुबीच एकताको लागि आफूले पहल लिएको बताए । तर, अहिले आफूले यस विषयमा अन्य पार्टीका नेताहरुसँग कुराकानी गर्न नभ्याएको उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गत मंसिरदेखि नै कुराकानी नभएको खुलासा गरे । उनले भने,‘मंसिरमा पनि मैले फोनमा कुरा गरेको थिएँ, उहाँलाई भेट्न पनि बालकोट गएको थिएँ, तर उहाँ हिँडिसक्नुभएको रहेछ ।’ उनले माधव नेपालसँग भने अहिले पनि निरन्तर सम्वाद भैरहेको सुनाए । उनले माधव नेपालले आफूलाई आफ्नो पार्टीमा समावेश गर्न चाहेको सुनाए ।
उनले भने,‘माधव नेपालले आफ्नो पार्टीमा आउन समावेश गर्न खोज्नुभएको छ । मैले उहाँको पार्टीको लागि गीत लेखेको थिएँ । उहाँले खबर पठाएकोले गीत लेखिदिएको हुँ ।’ उनले कम्युनिष्ट पार्टीबीच एकताको लागि भोलिदेखि नै शीर्ष नेताहरुसँग एक्लाएक्लै भेटवार्तामा सक्रिय हुने सुनाए ।