काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बोल्ने भनेका छन् । तर, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अर्थमन्त्री शर्मालाई कुनैपनि हालतमा बोल्न नदिने र विरोध गर्ने नि(निर्णय गरेको छ। आजको संसद् बैठकमा आफूमाथि लागेका आरोपबारे अर्थमन्त्री शर्माले आफ्नो कुरा राख्ने भनेका थिए ।
यसअघि संसद् बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री शर्माको राजीनामा मागेका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय छानबिन समिति बनाएर प्रतिवेदन संसद्मा पेश गर्नुपर्ने पनि माग गरेका थिए । एमालेले अर्थमन्त्रीको राजीनामा मागेर देशव्यापी रुपमा आन्दोलन सुरु गरिसकेको छ ।
अर्थमन्त्री शर्माले संसद्मा बोल्ने समाचार बाहिरिएपछि एमालेले उनलाई बोल्न नदिने निश्कर्ष निकालेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले अर्थमन्त्री शर्माले आफ्नो कुरा राख्ने आधारसमेत गुमाईसकेको दाबी गरे ।