काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले आफू सबै प्रकारको छानबिनको लागि तयार रहेको स्पष्ट पारेका छन् । उनले संसद्मा आफ्नो भनाई राख्न सुरु गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले आफ्नो भनाई राख्न सुरु गरेका छन् । बजेट निर्माणको क्रममा उनीमाथि अनधिकृत व्यक्ति मन्त्रालयमा प्रवेश गराईएको आरोप छ । एमालेले भने अर्थमन्त्री शर्माको सम्बोधन बहिष्कार गरेको छ। यसअघि एमालेको तर्फबाट योगेश भट्टराईले बोलेका थिए । उनले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने माग गरेका थिए । उनले आफूले बजेटको स्थापित मान्यता र मूल्यअनुसार नै बजेट बनाएको दाबी गरे । अनधिकृत व्यक्ति मन्त्रालय प्रवेश नगराईएको उनको भनाई छ ।
उनले आफू एउटा छानबिनको लागिमात्रै नभएर हजारौं छानबिनको लागि तयार रहेको टिप्पणी गरेका छन् । उनले आफूले देश र जनताको पक्षमा काम गरेको जिकिर गरे । आफूले राम्रो काम गर्दा गर्दैपनि आफूमाथि गलत आरोप लगाएर भ्रम छर्ने काम भएको उनको भनाई छ । उनले छानबिन समितिले बाहिर ल्याउने कुराले नै सबै कुरा स्पष्ट पार्ने जिकिर गरे । उनले छानबिन समितिलाई आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।