काठमाडौं, २३ असार । नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि फौजदारी अभियोगमा कारबाही गर्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “विवाद उठेपछि सहज वातावरणका लागि अर्थमन्त्री जनार्दन शर्माले छोड्नुभयो, राम्रै भयो । यो काम उहाँले धेरै अगाडि गर्नुपथ्र्यो । तर उहाँ अड्किनुभयो । डामाडोल भएको अर्थतन्त्रलाई त्राण दिने अनि उत्पादन र लगानीको वातावरण बनाउने बजेट ल्याउनुभन्दा १४ जेठको राति बिचौलिया राखेर करका दरको अनधिकृत हेरफेरमार्फत नीतिगत भ्रष्टाचार गरी राष्ट्रलाई अर्बौंको घाटा लगाउनुभयो । १६ दिन पनि नपुगीकन सीसीटीभी फुटेज डिलिट भयो भन्ने कीर्ते कुरा गर्नुभयो । यसमा उहाँलाई फौजदारी प्रकृतिको अभियोग लाग्छ ।”
शर्माले मुलुकमाथि ठूलो अपराध गरेको आरोप पनि तामाङको छ । उनले थपे, “सीसीटीभी गलत गर्ला, बेइमानी होला भनेर राखेको हो । त्यसको ब्याकअप राख्नुपर्नेमा १६ दिन नपुगीकन स्टोरेज क्षमता अभाव भयो भनेर डिलिट गरिएको छ । यसरी मुलुक लुटेर खान पाइँदैन । यो त सरकारी कीर्ते काम भयो । मुलुकमाथि ठूलो अपराध भएको छ । एमालेले राजनीतिक दलको हिसाबले कुरा उठायो । तर यो मुलुकको कुरा हो ।”
अर्थमन्त्री शर्मामार्फत मुलुकको अर्थतन्त्रलाई सीमित व्यक्तिले कब्जा गर्न खोजेको आरोप पनि उनले लगाए । उनले भने, “मुलुकभित्र उत्पादन हुने कुरालाई प्रोत्साहन गर्नुको साटो निरुत्साहित गरिएको छ । उहाँ हेर्दा कम्युनिस्ट पार्टी सदस्य तर मुट्ठीभर पुँजीपति व्यापारीलाई पोसेर के गर्न खोज्नुभएको हो ? उहाँमार्फत मुलुकको अर्थतन्त्रलाई सीमित व्यक्तिले कब्जा गर्न खोजेका छन् ।”